• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पढाईमा पहुँच

कोरोना संक्रमण बढेका कारण विद्यार्थीको पढाई नराम्ररी प्रभावित हुँदै आएको छ । भौतिक उपस्थितिका बीच पढाई हुन सक्ने अवस्था नरहेका कारण अनलाईन कक्षा चलाउन थालिएको छ ।

शहरबजारमा हुनेखानेकालागि अनलाईन कक्षा पनि सम्भव हुन सक्ला । तर आर्थिक क्षमताले नभ्याएका तथा दूरदराज र कुना कन्दरामा बस्नेहरुकालागि अनलाईन कक्षा पहुँचको विषय नरहेको वास्तविकता पनि हाम्रो मुलुकमा विद्यमान छ । सरकारले सबैकालागि शिक्षा भन्ने धेय राख्दछ भने अनलाईनको पहुँचमा नरहेकाहरुकालागि के व्यवस्था मिलाउन सकिन्छ भन्ने विषयमा पनि सोच्नु पर्ने बेला आएको छ ।

अहिले अनलाईन पढाई पढेर परीक्षा दिनेहरुले त परिणाम पनि राम्रै ल्याउलान् । तर जसले पढ्नै पाएको छैन त्यस्ताले परीक्षाको सामना कसरी गर्लान् भन्ने यक्ष प्रश्न पनि खडा भएको छ । सरकारले अहिलेको विषम परिस्थितिमा सबैकालागि पठनपाठनको कसरी व्यवस्था मिलाउन सकिन्छ भन्ने तर्फ ध्यान नपु¥याउने हो भने भविष्यमा विद्यार्थीको पढाई अझै चौपट बन्न सक्दछ । यस्तो असहज अवस्थामा जनताकालागि सरकारले नै व्यवस्था मिलाउनु पर्ने उसको जिम्मेवारी पनि हो ।

त्यसैले विशेषतः स्रोत साधनमा पहुँच नरहेकाहरुलाई लक्षित गरी विशेष व्यवस्था मिलाएर सहज पठनपाठनको व्यवस्था मिलाउने तर्फ सोच्नु पर्ने आवश्यकता छ । विद्यार्थीको भविष्य निर्माणको सुनौलो अवसर खेर जान नपाओस् भन्ने दृष्टिकोणबाट पनि पढाईमा सबैको पहुच पु¥याउने तर्फ सरकारले ध्यान दिनै पर्ने हुन्छ ।

पढेकाहरुले परीक्षाको सामना गर्न सके पनि पढ्न नपाएकाहरुले कसरी परीक्षा दिन सक्लान् ? यो अहम् सबालतिर पनि सोच्न जरुरी छ ।