कोरोना संक्रमण तीब्र रुपमा बढेर गईरहेको छ । स्वास्थ्य मन्त्रालयले भिडभाड नगर्न भनि पटक–पटक आग्रह पनि गर्दै आएको छ । भिडभाड नहोस् भनि सरकारले विद्यालय, सिनेमा हल, पार्टी प्यालेस लगायतको सञ्चालनमा अहिले पनि रोक लगाउँदै आएको छ । तर राजनीतिक दलहरुको कार्यक्रममा हजारौंको संख्यामा कार्यकर्ताहरुको भिड अहिले पनि उर्लँदो छ ।
भिडभाडले संक्रमणको जोखिम बढाउँछ भन्ने कुरा सबैलाई थाहा नै छ । त्यसमाथि दलका नेताहरुलाई यो कुरा थाहा नभएको विषय हुनै सक्दैन । कार्यक्रमको आयोजना गर्दा अहिले पनि भर्चुअल माध्यमबाट बढी जसो कार्यक्रम हुने गरेका छन् । तर विशेष गरी केन्द्रबाट नेताहरु जिल्ला आउँदा अहिले पनि बढी जसो जुलुसै लिएर स्वागतमा पुग्ने,एकै ठाउँमा झुम्मिएर बस्ने परिपाटी हट्न सकिरहेको छैन ।
संक्रमणबाट हज्जारौं थलिएको अवस्था छ । यस्तो बेलामा सबैले स्वास्थ्य मापदण्डकालागि तयार रहनुपर्ने आवश्यकता छ । सबैको समर्थन तथा साथ सहयोगबाट नै कोरोना संक्रमण कम गर्न सकिन्छ । यसकालागि राजनीतिक दलहरुले पनि सहयोग गर्न जरुरी छ । यसलाई मध्यनजर गरी कार्यक्रम गर्दा भिडभाड हुन नपाओस् भन्ने विषयमा चासो देखाउन जरुरी छ । कोरोनाको तेस्रो लहर पनि आउन थालेको भनि समाचार आउने गरेका छन् ।
यस विषयलाई ध्यानमा राखी काम गर्न सकियो भने मात्र जोखिम पनि घटेर जान सक्दछ । अहिले भिडभाड गर्ने समय होईन । यस्तो प्रतिकूल समयमा त साबधानीको आवश्यकता छ ।