सप्तरीको छिन्नमस्ता भगवती शक्तिपीठमा आइतबार साँझ चोरी भएको चाँदीको मुकुट १२ घण्टाभित्रै पत्ता लगाउन सप्तरी प्रहरी सफल भएको छ । चाँदीको उक्त मुकुट चोरेको व्यक्तिले विष्णुपुर गाउँपालिका स्थित आफ्नै घरको पूजा कोठामा लिएर बसेको अवस्थामा प्रहरीले फेला पारेको हो ।
नेपाल तथा भारतका समेत गरी अपार भक्तजनको आस्थाको केन्द्रका रुपमा रहेकी छिन्नमस्ता भगवतीको मन्दिरबाटै मुकुट रहस्यमय ढंगबाट चोरी भएपछि जनमानसमा खैलाबैला मच्चिएको थियो । देशकै प्रसिद्ध शक्तिपीठ मध्येको एक यस धार्मिक स्थलमा सम्साँझै चोरी भएका कारण सर्वसाधारणले सुरक्षा व्यवस्था फितलो रहेको भन्दै बिरोध जनाएका थिए । तर प्रहरीले चाँडै चोरीको सामानसहित चोर पक्रन सफल भएका कारण जनबिरोध मत्थर हुन थालेको छ ।
छिन्नमस्ता भगवती मन्दिरमा पहिले पनि मोटर साईकल चोरी भएको हो । बढी भिडभाड रहने यस परिसरमा सुरक्षा व्यवस्था स्वरुप सिसि क्यामेरा जडान गरिएको थियो । तर लामो समयदेखि उक्त क्यामेरा बिग्रे पनि त्यसको मर्मत सम्भार वा अर्को क्यामेरा लगाउने विषयमा चासो नदिईएका कारण भविष्यमा पनि चोरी भयो भने कसरी चोर पत्ता लगाउने भन्ने प्रश्न खडा भएको छ ।
अहिले त प्रहरीको सक्रियतामा चोरीको सामानसहित चोर पक्राउ परेको छ । यसले भविष्यमा फेरि यस प्रकारको घटना हुन नपाओस् भन्नाकालागि सुरक्षा व्यवस्था सुदृढ बनाउनु जरुरी छ भन्ने सन्देश दिएको छ ।
आस्थाको यस केन्द्रमा आपराधिक घटना हुन नपाउन् भन्ने बारेमा साबधानीका साथै सुरक्षाकालागि थप आवश्यक व्यवस्था मिलाउन जरुरी छ ।