• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
पहिले नै तयारी थाल

दोस्रो पटक बढेको कोरोना संक्रमणको लहरका कारण लामो समयसम्म निषेधाज्ञा लगाईयो । संक्रमण घट्न थालेपछि बिस्तारै निषेधाज्ञा खुकुलो पार्न थालियो । यसले गर्दा यातायात, पसल, होटललगायत पूर्ण सञ्चालनमा आएका छन् ।

विद्यालय, सिनेमाहल आदि भने खुल्न सकेका छैनन् । तर अहिले आएर संक्रमण फेरि बढ्न थालेको छ । दिनदिनै संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य क्षेत्रका विज्ञहरुले साबधानी अपनाउन आग्रह गरेका छन् । एकातिर संक्रमणको जोखिम बढेर गएको छ भने अर्कातिर सरकारले लामो दूरीका सार्बजनिक यातायातलाई पनि सञ्चालनको अनुमति दिएको छ । सार्बजनिक यातायात तथा बढी भिडभाडका कारण संक्रमण बढेर जाने जोखिम छ ।

तेस्रो चरणको संक्रमण पनि आउन सक्ने भनिएको अवस्थामा अब पहिलेदेखि नै यसको सामना कसरी गर्ने भनि आवश्यक तयारी गर्नु पर्ने आवश्यकता देखिएको छ । दोस्रो चरणको संक्रमण बढेका समयमा अक्सिजन, बेड, आईसियु र भेण्टिलेटरको अभावका कारण बिरामीले निकै सास्ती पाएको कुरा जगजाहेर नै छ ।

अब फेरि संक्रमण बढ्यो भने यस्ता अत्यावश्यक कुराको फेरि आवश्यकता पर्ने निश्चित छ । समस्याले घेरि सकेपछि मात्र समाधानका बारेमा चिन्तन गर्नु भन्दा पनि पहिलेदेखि नै थालिएको तयारी बुद्धिमानी पनि हो । यसो गरिएमा क्षतिलाई न्यूनीकरण गर्नमा पनि सघाउ पुग्नेछ ।

कोरोना संक्रमणका साथसाथै मध्य वर्षायाम भएका कारण अहिले बाढी, पहिरोको पनि जोखिम छ । यस्तो अवस्थामा सबैखालका तयारी गर्नेतर्फ सरकारले विशेष चासोका साथ काम गर्न जरुरी छ ।