बीचमा केही मत्थर भएको कोरोना संक्रमण केही दिन यता फेरि बढ्न थालेको छ । देशभरि दैनिक संक्रमितको तथ्यांकले संक्रमण बढ्दै गएको देखाएको हो । संक्रमण कम भएपछि सरकारले निषेधाज्ञा पनि क्रमश खुकुलो पार्दै लगेको थियो ।
पछिल्लो चरणमा राजधानीबाट लामो दूरीका सार्वजनिक सवारी साधनलाई पनि सञ्चालनको अनुमति दिईएको छ । विद्यालय, सिनेमा हल, जीमखाना लगायत केही क्षेत्र मात्र बन्द छन् । यसका अलाबा सबै जसो क्षेत्र खुला गरिएको छ । सार्बजनिक यातायातका साधन चल्नकालागि अनुमति दिँदा पनि सिट क्षमताअनुसार मात्र यात्रु चढाउन, नियमित सरसफाईमा ध्यान दिन तथा मास्क लगाउन र सेनिटाईजरको गाडीमै व्यवस्था मिलाउन भनिएको छ ।
तर अहिले सरकारको यस्तो आदेशको पालना नभएको जताततै देख्न पाईन्छ । गाडीमा कोचमकोच गरेर यात्रु चढाईएकै छन् । यस्तै गाडीमा सेनिटाईजरको व्यवस्था गरेको बिरलै देख्न पाईने गरेको छ । बजार तथा अन्य भिडभाडका क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेर गएको छ ।
राजनीतिक दलका जुलुसदेखि अन्य भिडभाडका कार्यक्रम आयोजना भई नै रहेका छन् । कोरोना संक्रमण बढ्न थालेपछि यस प्रकारका गतिबिधिमाथि नियन्त्रण गर्न जरुरी भए पनि यसमा अहिले उदासिनता देखाइँदै आएको छ । संक्रमण बढ्नुभन्दा अगाबैदेखि अपनाउनु पर्ने साबधानी नअपनाईएका कारण फेरि पनि भयाबह अवस्था आउने पो हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
कोरोनाबाट जोगिन तथा यसको नियन्त्रणकालागि सरकार लगायत सबै पक्षको भूमिका अपेक्षित छ । यस्तो मामिलामा गरिने लापरबाही महँगो पर्न सक्छ भन्ने तर्फ ध्यान दिनु पर्ने आवश्यकता छ ।