राजनीतिमा आफ्ना अग्रणी नेताको पदचाप पछ्याएर देश र जनताकालागि काम गर्नु पर्छ भन्ने मान्यता छ । अग्रज नेताले गरेका असल कामको निरन्तरता, अधुरा कामको पूर्णता तथा आफूले पनि नयाँ राम्रा कामको थालनी गरेर अघि बढ्न सकियो भने त्यस्तो राजनीति जनताकालागि पनि स्मरणीय हुन्छ ।
नेपालमा पनि देश र जनताकालागि राम्रा कामको थालनीका साथ जनताको स्तर उकास्नकालागि विगतमा पनि नेताहरुले सपना नदेखेका होईनन् । महामानव विपी कोईराला तथा नेपाली कम्यूनिष्ट आन्दोलनका शीर्ष पुरुष पुष्पलाल श्रेष्ठ पनि यस्तै व्यक्तित्व थिए । भर्खरै नेपाली राजनीतिका शिखर पूरुष यी दुई व्यक्तित्वको स्मृति दिवस मनाईएको छ ।
नेताहरुले यस अवसरमा विपी र पुष्पलालले लिएको अठोट र देखेको सपना साकार पार्नकालागि जोड दिए । वर्षमा एक दिन कार्यक्रम आयोजना गरी उनीहरुको स्मरण त गरिन्छ । तर उनीहरुले देखाएको बाटो अबलम्बन गर्ने सबालमा चाहिँ अहिले कमी देखिएको टिप्पणी उठ्न थालेको छ । देश र जनताकालागि निस्वार्थ भावनाका साथ आफूले दुःख कष्ट झेलेर काम गरेका अग्रज नेताहरुको सपना तबसम्म साकार हुँदैन जबसम्म अहिलेको पुस्ताले पनि यस्तै निस्वार्थ भावना लिँदैन ।
राजनीतिमा आएको विकृतिका कारण देशमा आएको ऐतिहासिक परिवर्तनका बाबजुद पनि नेपाली जनताको मुहारमा खुशीको छनक देख्न पाईएको छैन । सत्ताको रसास्वादनमा भुल्ने, आफ्ना आसेपासे तथा गुटमा लागेकाहरुलाई सेवा सुबिधा र अवसर दिने तर विगतदेखि निस्वार्थ भावनाले काम गरेका, दूःख पाएकाहरुलाई चाहिँ गुटको पक्षपोषणमा नलागेकै कारण पाखा पार्ने नियतले पार्टी उँभो लाग्न सक्दैन । देश र जनतालाई शिरमा राखेर आफूले स्वार्थ त्यागेर काम गर्न सक्दा मात्र अग्रज प्रतिको वास्तविक सम्मान हुनेछ ।