मुलुकमा देखिएको राजनीतिक उथलपुथलका कारण जनअपेक्षा अनुसार काम नभएको कुरा जगजाहेर नै छ । महँगी, बेरोजगारी, भ्रष्टाचार, ढिलासुस्ती तथा गुटबन्दी जस्ता कमजोरी देखिएको भनि जनस्तरबाटै कुरा उठ्न थालेको छ ।
गुटबन्दीकै कारण यस अघिको सरकार आफ्नै पार्टी भित्रको असहयोगमा प¥यो । आफ्नै पार्टीमा पनि बढेको गुटबन्दीका कारण जनताले सरकारबाट अपेक्षा गरे अनुसारको राहत पाउन सकेनन् । जनतामाथि यसले गर्दा वितृष्णा बढेर गएको छ । सत्तारुढ वा प्रतिपक्षी दलका नेताहरुले जनताकालागि काम गर्ने भनि पटक–पटक प्रतिबद्धता जनाउने गरेका भए पनि व्यवहारतः जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् ।
दलहरु सत्ताकालागि एकापसमा भिड्न थालेपछि जनताका सबाल ओझेलमा पर्न थालेका छन् । राजनीतिक दलहरुले सत्ताकालागि आपसमा भिड्न छाडेर देश तथा जनताकालागि काम गर्नुपर्ने अहिलेको आवश्यकता हो । दीगो राजनीति गर्ने नेता सधैं जनताका साथमा रहनेमा आशंका छैन । यस्तो व्यवहारले नै उनीहरुको जनप्रियताको मापन हुनेछ ।
राजनीति नै जब जनताकालागि गरिन्छ भने यसले जनताका समस्यालाई नै प्राथमिकतामा राख्न सक्नु पर्दछ । अहिले जो सत्तामा छन् तिनले जनताकालागि कति काम गरे, उनीहरुको कार्यशैली कस्तो रह्यो भनि निर्णायक पनि यिनै जनता हुन् । यही कारणले पनि नेताहरुले सधैं जनताका साथमा रहन जरुरी छ ।
सरकारले राम्रो काम गरोस् भन्ने हरेक जनताको चाहना रहन्छ । जनअभिमतको कदरस्वरुप पनि नेताहरुले जनताको भावना बुझ्न जरुरी छ ।