सर्बोच्च अदालतको आदेशबाट प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् भने नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएका छन् । मंगलबार उनले प्रधानमन्त्रीको रुपमा शपथग्रहण समेत गरिसकेका छन् ।
प्रधानमन्त्रीबाट बाहिरिँदै गर्दा ओलीले मंगलबार देशवासीका नाममा गरेको सम्बोधनमा पनि संसद र सरकार सही सलामत रहला भन्नेमा शंका रहेको पनि बताएका छन् । उनले अदालतको फैसलाको असर आगामी दिनमा देखिने समेत बताएका छन् । ओली देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नू भन्ने अदालतको आदेश पछि नै पदमुक्त भएका हुन् ।
मुलुकमा विकसित घटनाक्रमले नयाँ बनेको सरकार र संसद सही सलामत ढंगले अगाडि बढ्ला भन्नेमा शंका रहेको उनले बताएका छन् । मुलुकमा आएको ऐतिहासिक परिवर्तनका कारणबाट नै संघीय लोकतान्त्रिक गणतन्त्रको संबैधानिक ग्यारेण्टी भएको छ । संबिधानसभाबाट बनेको नयाँ संबिधानले जनतालाई अधिकारसम्पन्न बनाउने काम गरेको छ । अहिले पनि केही कुरामा असन्तुष्टी होलान् । तर, तिनको सम्बोधन गर्दै संबिधानलाई सर्वस्वीकार्य बनाएर अघि बढ्नुपर्ने माग उठिरहेको सन्दर्भमा विगत केही समयदेखि मुलुकमा राजनीतिक अस्थिरताका खेलहरु बढेर जान थालेका छन् ।
लोकतन्त्रकैलागि लडेका दलहरु बीच देखिन थालेको अविश्वास तथा आरोप प्रत्यारोपका कारण अस्थिरताका संकेतहरु देखिन थालेका हुन् । अहिले सरकार परिवर्तन भएको छ । तर, सरकार पटक–पटक परिवर्तन गर्ने भन्दा पनि राजनीतिक दलहरुले आपसमा समझदारी राखेर मुलुकमा विद्यमान संकटको निबारणकालागि अघि बढ्न सके मात्र जनताले पनि राहतको अनुभूति गर्न पाउने अवस्था आउँथ्यो होला ।
एकातिर कोरोनाको संक्रमणले गर्दा मुलुकको आर्थिक अवस्था नराम्ररी प्रभावित हुनाका साथसाथै जनता संकटमा परेका छन् । यस्तो समयमा राजनीतिक अस्थिरतालाई बढाबा दिनु भन्दा पनि देश र जनताकालागि निस्वार्थ भावनाका साथ लाग्न जरुरी छ ।