सरकारले भ्रष्टाचार सहन नगर्ने प्रतिबद्धता पटक–पटक जनाउने गरेको छ । प्रधानमन्त्री स्वयम्ले पनि आफु भ्रष्टाचार नगर्ने अनि अरुले गरेको पनि नसहने भनेको पनि जनताले सुनेकै छन् । तर यसका बाबजुद पनि भ्रष्टाचार ग¥यो ? भनि यस बारेमा प्रश्न उठाउने पनि नरहेका होइनन् ।
हो, देखिने गरी वा प्रमाण छोडेर कसैले भ्रष्टाचार गरेको छैन होला । तर यसो भन्दैमा मुलुकमा भ्रष्टाचारको उन्मूलन नै भई सक्यो भन्न सकिने अवस्था चाहीं अवश्य पनि छैन । भ्रष्टाचार ढाकछोपका लागि बलियो आधार बन्ने गरेको छ कागजी मिलानी । कागज–पत्र पहिला दुरुस्त राखेपछि भ्रष्टाचार नगरेको ठोस प्रमाण त्यसैलाई मान्ने गरिएका कारणले पनि कागजी रुपमा सबै थोक दुरुस्त देखाएर गरिने भ्रष्टाचार सितिमिति पत्ता लगाउन गाह्रो हुने गर्दछ ।
अहिले साल तमामी र आर्थिक वर्ष समाप्तिको चरण छ । चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्र बाँकी रहेका कारण यतिवेला जसरी विकास निर्माणको काम सक्ने चटारो छ त्यो भन्दा कम चटारो यस्तै कागजी मिलानीमा पनि रहेको छ । चालु आर्थिक वर्षभित्र खर्च गरिसक्नुपर्ने रकम खर्च नभएमा फ्रिज भएर जाने हुँदा यो चटारोले छोपेको हो ।
यस्तो वेलामा कहाँ–कहाँ जायज खर्च भयो र कहाँ नाजायज खर्च गरेर बजेट सक्ने गोरखधन्दा चल्यो ? त्यसको यथार्थ पत्ता नलगाईकन यस्तै छोडिरहने हो भने भ्रष्टाचार नियन्त्रणका कुरा पनि केवल हात्तीका देखाउने दाँत नबन्ला भन्न सकिन्न ।