• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

प्रदेश २ का सभामुख सरोज यादवले स्थानीय तहका जनप्रतिनिधि महाराज जस्तै भएको भन्दै असन्तुष्टि पोखेका छन् । चार दिन अघि जिल्ला समन्वय समिति सप्तरीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सिंहदरबारको अधिकार गाउँमा पु¥याउने भनि स्थानीय तहहरुलाई अधिकार सम्पन्न तुल्याएको भए पनि जनताका समस्या प्रति स्थानीय तहका जनप्रतिनिधिहरुले सन्तोषजनक रुपमा काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

कोरोना कहरका साथसाथै गाउँ गाउँमा यति बेला बाढीको समस्या पनि बढेर गएको छ । तर, स्थानीय तहका जनप्रतिनिधिहरुले जनतालाई कसरी सुरक्षा दिन सकिन्छ भन्ने बारेमा भन्दा पनि अन्य कुरामा बढी चासो दिन थालेका कारणले जनता पीडितको पीडितै रहन बाध्य बनेको अवस्था कायमै छ । गाउँमा आपत विपद् पर्दा सबैभन्दा नजिक स्थानीय तहका जनप्रतिनिधि नै रहने भएका नाताले पनि यस्तो संकटका समयमा जनतालाई साथ दिनु उनीहरुको जिम्मेवारी पनि हुन जान्छ । तर यस प्रकारको साथ सहयोग नपाएका कारण जनतामा निराशा बढ्न थालेको छ ।

विकास निर्माणका काम गर्दा पनि जनताको आवश्यकतालाई ध्यानमा राखेर गरिनु पर्नेमा राजनीतिक लाभ लिन कसरी सकिन्छ भन्ने कुरालाई चासो दिएर त्यसै मुताबिक काम गर्ने गरिएको गुनासो पनि कम उठ्ने गरेको छैन । जनप्रतिनिधि भनेका सबै जनताप्रति उत्तिकै जिम्मेवार हुन् । यस्तो जिम्मेबारी बहन गर्दा राजनीतिक रंग दिनु उपयुक्त मान्न सकिँदैन ।

जनताका समस्या समाधानतिर चासो दिने भन्दा पनि आफ्नो सुबिधा बढाउनेतिर लागेका कारणले पनि कतिपय जनप्रतिनिधिका कार्यशैलीका बारेमा कुरा उठ्ने गरेको छ । यस प्रकारको सोच परित्याग गर्न सके मात्र जनप्रतिनिधिको साख जोगिने छ ।