• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आज असार १५ गते अर्थात राष्ट्रिय धान दिवस । यसलाई रोपाइँ दिवसका रुपमा पनि चिन्ने गरिन्छ । नेपाल कृषि प्रधान देशका रुपमा चिनिन्छ । यहाँको प्रमुख कृषि उत्पादन पनि धान नै हो ।

देशको आत्मनिर्भरताकालागि पनि पहिला आवश्यक खाद्यान्न आफ्नै उत्पादनमा भर पर्न आवश्यक हुन्छ । एक समय नेपालबाट भारत, बंगलादेश लगायतका मुलुकमा धानको निर्यात हुने गर्दथ्यो । खाद्यान्नमा आत्मनिर्भर भएका कारणले नै त्यति बेला यो सम्भव भएको हो । तर, अहिले त्यस्तो अवस्था छैन । बाहिरबाट ठूलो परिमाणमा खाद्यान्न आयात नगरी मुलुकमा सबैको घरमा चुलो बल्न सक्ने अवस्था छैन । सोझै भन्दा हाम्रो कृषि उत्पादनले हामीलाई खान पनि नपुग्ने अवस्था भएको छ ।

यसको अर्थ हाम्रो यो अवस्थामा सुधार आउनै सक्दैन भन्ने होईन । केही दसक अघिसम्म धान निर्यात गर्ने मुलुकमा अहिले विदेशबाट चामल आयात गर्ने अवस्था किन आयो ? यसमा चिन्तन गर्दा हाम्रो कृषि क्षेत्रमा जति उत्थान हुनु पर्ने थियो त्यसमा कमी रहेको मान्न सकिन्छ । खास गरी किसानले उत्पादनको मूल्य उचित रुपले नपाएको,बैदेशिक रोजगारीमा युवाशक्ति पलायन भएका कारण कृषिमा जनशक्तिको अभाव रहेको, उन्नत बिऊ, रसायनिक मल तथा सिँचाईको अभाव जस्ता समस्याले किसानलाई पछ्याउने गरेका कारणले गर्दा नै उर्बर भूमि बाँझै रहने गरेको अवस्था अहिले पनि कायमै छ ।

वर्षमा एक दिन कार्यक्रम गरी धान दिवस मनाएर मात्र पुग्दैन । यस्तो अवसरमा कृषिको उत्थान कसरी गर्न सकिन्छ भन्ने चिन्तनका साथै यस सम्बन्धि उपयुक्त व्यवस्था मिलाउन जरुरी छ ।