• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

एक आर्थिक वर्षभित्र सम्पन्न गर्ने काम समय सीमाभित्र पूरा भएन भने बजेट फ्रिज हुने व्यवस्था छ । त्यस कारण काम समयमा नै पूरा होस् भन्नाकालागि सरकारले अनुगमनको पनि व्यवस्था मिलाउने गरेको छ ।

हामी कहाँ खासगरी विकास निर्माणका काम गर्दा ढिलो गरी सुरु गर्ने,समयमै काम सुरु गरेपनि वीचमा आलटाल तथा ढिलाई गर्ने अनि समय सकिन लागेपछि हतार हतारमा त्यसलाई पूरा गराउनेतिर लाग्ने परिपाटीले छोड्न सकिरहेको छैन । असार मसान्त चालु आर्थिक वर्षको अन्तिम समय सीमा हो ।

त्यसैले वर्षा सुरु भएपछि असारतिर हतार हतारमा काम सक्ने चटारोले पछ्याउने गर्दछ । हतार हतारमा गरिने काममा गुणस्तरको अभाव रहने सम्भावना निकै रहने गर्दछ । यसका साथै वर्षायाम निर्माण कार्यकालागि उपयुक्त पनि मानिदैन । मानौं असारे झरीमा कसैले सडक मर्मत वा निर्माणको काम थाल्दछ भने त्यो कतिको टिकाऊ हुन्छ भन्ने कुरा सहजै अनुमान गर्न नसकिने होईन । सुक्खायाममा गर्नु पर्ने पीच सडक निर्माण वर्षामा गरेमा त्यो निश्चय पनि कच्ची रहन्छ र केही दिनमै भत्किन थाल्दछ ।

यस्ता कामका विषयमा पटक पटक समाचार पनि आउने नै गरेका छन् । तर पनि नियमनकारी निकायबाट त्यसमा कडाई गरेको बिरलै देख्न पाईन्छ । यसरी हतारमा कच्ची काम गरेर देखाउनु भनेको आँखामा छारो हालेसरह नै हुनेमा आशंका नरहला । त्यसैले बरु बजेट फ्रिज होस् तर यसरी कच्ची काम चाहिँ हुन नपाओस् भन्नेमा ध्यान दिनै पर्ने हुन्छ ।