• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

फागुन, चैत लगायतका सुक्खा समयमा आगलागीको जोखिम त रहन्छ नै । यसका साथै डँढेलोका कारणले यस मौसममा वनजंगल सखाप हुने जोखिम पनि उत्तिकै रहन्छ । वनमा गाईवस्तु चराउन जानेले बिडी चुरोट सल्काएर आगो ननिभाई वनमै फाल्ने, जानी जानी वनमा सुकेका पत्करमा व्यक्तिले आगो सल्काई दिने गरेका कारण आगो पूरै वनभरि फैलिँदा सखाप हुने जोखिम रहने भएका कारण यस्तो समयमा विशेष ध्यान दिनु पर्ने जरुरी छ ।

डँढेलो नियन्त्रणकालागि वन कार्यालयले सक्रियता देखाउन सकेमा मात्र वनको सुरक्षा हुन सक्दछ । वनको आगो वस्तीसमेतमा विस्तार भएर आगलागीले करोडौंको धनमाल समेत जलेर नोक्सान भएका विगतका घटनाहरुबाट पनि पाठ सिक्न जरुरी छ । वनमा लाग्ने डँढेलोका कारण त्यहाँ रहने वन्यजन्तुको अस्तित्व पनि संकटमा पर्ने भएका कारणले यस्तो अवस्था आउन नपाओस् भन्नाकालागि पहिले नै साबधानी अपनाउनु बुद्धिमानी पनि हो ।

वन्यजन्तु यति बेला उसै पनि संकटमा छन् । त्यसमाथि वनमा लाग्ने आगोका कारण उनीहरुको बासस्थान नै सखाप हुने भएका कारणले यसमाथि नियन्त्रणको आवश्यकता छ । वनको डँढेलोले वातावरणमा समेत प्रतिकूलता आउने भएका कारण यो कुनै पनि दृष्टिबाट उपयुक्त होईन । वनका पात पत्कर डढाएपछि नयाँ घाँस आउँछ भन्ने भ्रमका कारणले पनि कतिपयले वनका पत्करमा आगो झोसिदिने गरेको पाईन्छ । वनका बहुमूल्य काठपात पनि डढेर ठूलो क्षति हुने भएका कारणले पनि वनजंगललाई डँढेलोबाट जोगाउनेतिर लाग्न जरुरी छ ।

जिल्ला वन कार्यालय वा सरोकारवाला निकायले वनको सुरक्षा तथा डँढेलोले पु¥याउने क्षतिका बारेमा जनसाधारणमा जानकारी दिने तथा वनको सुरक्षाका सबालमा जनताको पनि साथसहयोग लिने मामिलामा सक्रियता देखाउन जरुरी छ । बृक्षारोपण तथा वनको सुरक्षाकालागि वर्षेनी ठूलो रकम खर्च हुँदै आएको छ । सरकारले वनजंगलको सुरक्षाकालागि विभिन्न कार्यक्रम ल्याएर करोडौंको खर्च गर्दै आएको छ ।

वनको सुरक्षामा एकातिर सालसालै बजेट लगानी गर्नु तर डँढेलोका कारणले वनको हुर्केका रुख समेत सखाप हुने अवस्था आयो भने यो बिडम्बना नै बन्ने निश्चित छ । वर्षा याम नआएसम्म सुक्खा समयमा वनजंगलको सुरक्षामा ध्यान दिन सकियो भने फेरि एक वर्षसम्म यस प्रकारको संकट हटेर जाने छ । तसर्थ अहिलेको जोखिमका समयमा सरोकारवाला सबैले चासो देखाउन जरुरी छ ।