यही समयमा गत वर्ष नेपालमा पनि कोरोनाका संक्रमितहरुको संख्या बढ्न थाल्यो । संक्रमण नियन्त्रणकालागि आजको ठीक एक वर्ष अघि सरकारले देशव्यापी लकडाउन घोषणा गरेको थियो । कोरोना फैलिन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन आग्रह गरिएको थियो । यही कारणले गत वर्षको होली पर्व पनि उल्लासयम बन्न सकेन ।
एक वर्षपछि आउनै लागेको यसपालिको होलीमा गत वर्ष मनाउन नपाएको तिर्सनालाई पनि मेट्ने गरी धुमधामसित मनाउने धेरैको चाहना रहेको हुन सक्छ । तर, ठीक यही समयमा कोरोनाको संक्रमण फेरि बढ्दो क्रममा देखिन थालेको छ । छिमेकी मुलुक भारतमा त दिनानुदिन अत्यधिक संख्यामा संक्रमितहरु बढेका छन् । यसको कारणले नेपालमा पनि जोखिम रहनुलाई स्वाभाविकै मान्नु पर्दछ ।
होलीमा दलिने रंगअबिर तथा बाक्लो भेटघाटका कारणले फेरि पनि यो संक्रमण विस्तार हुने पो हो कि भन्ने चिन्ता बढेको छ । विशेष गरी तराई मधेशमा सबैभन्दा बढी उल्लासका साथ मनाईने होलीमा कोरोनाको जोखिमले खल्लोपन ल्याउने त होईन भन्ने आशंका छ ।
जहाँसम्म चाडपर्वको उल्लास र उत्साहको कुरा छ यसकालागि आनन्दित मन रहनु सर्बाधिक आवश्यकताको विषय हो । मनमा नै शान्ति छैन, त्रास र आशंका बढ्दो छ भने यस्तो बेलामा चाडबाडको आनन्द उठाउन सकिन्न । मन हर्षित रहँदा नै सबै चाडपर्व पनि आनन्दका परिचायक बन्ने हुन् । मानिस मानिस वीचको सम्पर्क, भिडभाड तथा स्वास्थ्य सम्बन्धि आवश्यक मापदण्ड पालनामा गरिने हेलचेक््रयाइँबाट नै कोरोनाको संक्रमण बढ्ने हो । यो कुरा जगजाहेर नै छ । त्यस कारण पनि पहिला आफ्नो र आफन्तको स्वास्थ्य सुरक्षामा ध्यान दिनु पर्ने अहिलेको आवश्यकता हो ।
सरकारले पनि सभा, जुलुस तथा भिडभाड नगर्न, मास्क अनिवार्य लगाउन, साबुन पानीले नियमित हात धुनकालागि आग्रह गर्दै आएको छ । यो कुरा सबैले पालना गर्न सकै संक्रमणको जोखिम पनि घटेर जाने छ । अरुले भनेको कुरालाई मात्र अनुशरण गर्नेतिर भन्दा पनि आफूले जाने बुझेका कुरालाई पालना गरेर संक्रमणबाट सुरक्षित रहने उपायका बारेमा साबधानी अपनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।
अतः पहिला आफू सुरक्षित रहने उपायका बारेमा सोचौं, स्वस्थ्य रहन सकियो भने चाडपर्वको आनन्द त फेरि पनि लिन नसकिने होईन ।