धानबाली लगाउने बेलामा नेपाली किसानले यस वर्ष रसायनिक मलको हाहाकार भोग्नु प¥यो । कोरोनाका कारणले समग्र मुलुक नै आक्रान्त बनिरहेको समयमा किसानहरुले खेति गर्ने साहस त जुटाए । तर, समयमा मल नपाएका कारणले उनीहरुले हैरानी ब्यहोर्नु प¥यो । सरकारले किसानलाई आश्वस्त पार्न बंगलादेशबाट पैंचोमा भएपनि मल ल्याउने बतायो । तर, धानको बेला त के गहुँ लगाउने समयसम्म पनि मल आएन ।
प्रमुख आधारका रुपमा रहेको कृषि पेशाप्रति किसानलाई मनोबल बढाउनकालागि सरकारले पनि उपयुक्त नीति ल्याएर त्यसलाई व्यवहारमा लागु गर्न आवश्यक हुन्छ । तर, नेपालमा सरकारले किसानका समस्या दीगो रुपमा समाधानकालागि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकेका कारणले नै नेपाली किसानले हतोत्साहित हुनु परिरहेको अवस्था कसैबाट लुकेको विषय होईन ।
रसायनिक मल मात्र होईन, उन्नत जातको बीऊ, कीटनाशक औषधी तथा बालीमा रोग लाग्दा प्राबिधिक सरसल्लाहको अभाव जस्ता समस्याको पनि हल हुन सकिरहेको छैन । अनुदानमा ल्याउने कि खरिद गर्ने भन्ने अन्यौलका वीच बंगलादेशबाट ल्याउने भनिएको रसायनिक मल बल्ल नेपाल भित्रिएको छ ।
जीटुजी प्रक्रियाबाट बिना मध्यस्थकर्ता खरीद ५० हजार मध्ये पहिलो लटमा बंगलादेशको कर्णाफुल्लीबाट लिपिm्टंग भएर २२ हजार ५ सय मेट्रिक टन मल भारतको कोलकाता आईपुगेको थियो । त्यहाँ प्याकिंग भएर सोमबार भारतको जोगबनी हुँदै विराटनगर तथा मंगलबार वीरगञ्ज मल आईपुगेको कृषि सामग्री कम्पनीले जानकारी दिएको छ । एक पटक मल ल्याउनकालागि यतिका समय लाग्यो । यसले के साबित गर्दछ भने खेति लगाउनुभन्दा पहिले नै रसायनिक मल आयात गरेर स्टक नगरिए समयमा किसानले त्यसको प्रयोग गर्न पाउने छैनन् र सकिनसकी लगाएको खेति पनि मल अभावका कारणले बिग्रने छ ।
स्वदेशमा रसायनिक मलको उत्पादन नरहेको तर मुलुक कृषिप्रधान रहेका कारण किसानका समस्यालाई मध्यनजर गरी समयमै मलको व्यवस्थामा जुट्न आवश्यक छ । बाहिरबाट मल आयात नगरी काम नचल्ने अवस्था जगजाहेर हुँदाहुँदै पनि गरिने ढिलाई तथा आलटालले अन्ततः नोक्सानी चाहिँ किसानले नै ब्यहोर्नु पर्ने हुन्छ ।
तसर्थ रसायनिक मलका साथै सिँचाई, उन्नत बीउ, कीटनाशक औषधीलगायत किसानलाई आवश्यक पर्ने कुराको समयमै व्यवस्था मिलाउनेतिर लाग्नु आवश्यक छ । कृषिको उत्थानबाट नै बढ्दो बेरोजगारी समस्यालाई पनि न्यूनीकरणमा मद्दत पुग्ने भएका कारण यस प्रति ध्यान दिनु उत्तम हुनेछ ।