जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका तथा अदालतबाट दोषी ठहर भई जरिवाना तथा कैद भुक्तान नगरी फरार भएकाहरुलाई धमाधम समात्ने काममा तिब्रता दिएको छ । अपराध गरी फरार रहेकाहरुलाई समातेर कानूनी दायरामा ल्याउनु पनि प्रहरीको जिम्मेवारी अन्तर्गतकै काम हो ।
सप्तरीमा पनि अपराधका घटना बढ्ने गरेको सन्दर्भमा अपराधी फरार रहनु भनेको चिन्ताकै विषय थियो । अपराधी फरार हुँदा समाजमा त्रास बढ्ने, पीडित तथा तिनका आफन्तजनले न्याय नपाउने र फरार व्यक्तिले फेरि पनि अपराध गर्न सक्ने भएका कारण कानूनको दायरामा अपराधीलाई ल्याउनै पर्ने हुन्छ । प्रहरीले यस विषयमा अभियानै चलाएका कारण यसरी एकपछि अर्को सफलता हात पर्दै गएको मान्न सकिन्छ ।
फरार अभियुक्त पक्राउ गरे जस्तै अपराध न्यूनीकरणतिर पनि ध्यान दिएर आपराधिक घटनामा कमी ल्याउन सके यसबाट प्रहरीले अझै थप सफलता पाएको मान्न सकिनेछ । प्रहरीले समाजमा अपराध नियन्त्रण गरी जनमानसमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी पनि बोकेको हुन्छ । यस हिसाबले अपराध घटेर गयो भने प्रहरीको काममा सफलता मिल्दै गएको मानिन्छ भने यदि अपराध बढेमा अझै सुरक्षा प्रति सजगता तथा सक्रियता दर्शाउनु पर्ने आवश्यकताको बोध हुन जान्छ ।
समाजमा शान्ति सुरक्षा कायम गराउने विषयमा प्रहरीले नागरिकसँगको सम्बन्धमा विस्तार गरी आफ्नो उद्देश्य प्राप्तीकालागि जनस्तरबाट पनि सहयोग जुटाउन सक्दछ । अपराध नियन्त्रणकालागि बर्दीका प्रहरी अहोरात्र खटेजस्तै विनाबर्दीका रुपमा जनस्तरबाट पनि प्रहरीलाई सहयोग दिने बातावरण तयार भयो भने अपराध अवश्य पनि घटेर जानेछ । अपराधीलाई जोगाउनकालागि प्रभाव तथा पहुँचबाट मुक्त रही जोसुकै भएपनि अपराध गरेको छ यदि भने त्यस्तालाई कारवाही चलाउनेतिर नै जोड दिन जरुरी हुन्छ । यस्तो भएमा मात्र त्यस्ताको मनोबल बढ्न नपाउने तथा सुरक्षा व्यवस्थामा पनि सुधार आउने भएका कारण कानूनको दायरामा अपराधीलाई लैजानै पर्ने हुन्छ ।
सप्तरीमा प्रहरीले फरार अपराधी समात्नमा पाएको सफलता जस्तै थप अपराध नहोस् भन्नाकालागि पनि प्रभावकारी तबरले लागि पर्न जरुरी छ । फरार अपराधी समातिएका भएपनि जिल्लामा बेरबखत अपराधका घटना हुन छाडेका छैनन् । यसलाई नियन्त्रणमा लिन पनि सुरक्षा संयन्त्र चुस्त बनाउनै पर्ने हुन्छ ।