• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय नारीदिवस सोमबार नेपालमा पनि बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । महिला उत्पीडनका बिरुद्ध आवाज बुलन्द गर्दै कार्यक्रमका सहभागीहरुले अहिले पनि महिलामाथि विभेद कायमै रहेको गुनासो गर्न समेत भ्याएका छन् ।

लैंगिक समानताको कुरा उठाउने गरिएपनि अहिलेसम्म महिलामाथिको विभेद निर्मूल हुन सकेको छैन । अरु त के कुरा समान किसिमको श्रम गर्दा पनि पुरुष तथा महिलालाई दिने पारिश्रमिकमा पनि भिन्नता रहने गरेको अहिले पनि धेरै उदाहरण देख्न पाईन्छ । एकै प्रकारका काम गर्दा पनि महिला भएकै कारण मजदूरीमा कमी गर्नु समानताको उपहासै भन्न सकिन्छ । संबिधानले पनि सबै खालका विभेदको अन्त्य गर्ने ग्यारेण्टी गर्दा पनि यस प्रकारका विभेद रहिरहनु शोभनीय होईन ।

सिद्धान्तमा समानताका कुरा उठाउने गरिएका भए पनि व्यवहारमा पूर्णतः लागु नगरिएका कारण अहिले पनि महिलामाथिको विभेदले जरो गाडेर बसिरहेको अवस्था छ । कुरा विभेदको मात्र नभई महिलामाथि हुने उत्पीडनका घटना पनि नियन्त्रण भईसकेका छैनन् । महिलामाथिको हत्या, बलात्कार, घरनिकाला जस्ता अपराधिक घटना घटि नै रहेका छन् । यस प्रकारका अपराध बिरुद्ध कडा कानून पनि नबनेका होईनन् । तर पनि यस प्रकारका जघन्य अपराध घटी नै रहेका छन् ।

सरकारले महिला हिंसा सह्य नहुने बताउँछ, कडा खालका कानून पनि बनेका छन् । तर महिलाहरुले अहिले पनि उत्पीडित भएर बस्नु पर्ने अवस्था रहि रहन्छ भने यसले लैंगिक समानता छ भन्नमा बाधा नै पु¥याउँछ । महिलालाई अवसर दिने हो यदि भने पुरुषकै सरह काम गर्न सक्दछन् भन्नमा संकोच मान्नु पर्दैन । तर, महिला भएकै कारणले अवसर नदिने, पछाडि पार्ने र विभेद गर्ने जस्ता अशोभनीय कार्य हुन्छन् भने यस प्रकारको परिपाटीमाथि कडाई गर्न जरुरी हुन्छ ।

वर्षमा एक दिन नारी दिवस मनाएर, नारी समानताका कुरा गरेर पुगि हाल्छ भन्ने होईन । यस्ता दिवसमा महिलामाथिका विभेद तथा हिंसाका घटना कति न्यूनीकरण भए तिनको पनि लेखाजोखा गरेर हेर्ने, कमी कमजोरीलाई सच्याउनेतिर चासो देखाईयो भने यसले महिलामाथिको विभेद तथा हिंसालाई घटाउनमा पनि सघाउ पुग्नेछ ।

मानव सभ्यताका दृष्टिकोणबाट होस् वा एक्काईसौं सताब्दीको हाँकलाई स्वीकार्न होस् अब सबै खालका विभेद तथा उत्पीडनको अन्त्य हुनै पर्दछ ।