सप्तरीका भारोत्तोलनका पूर्व राष्ट्रिय खेलाडी स्व. देवसुन्दर यादवको सम्मानमा यही फागुन २९ देखि राजविराजमा प्रथम देवसुन्दर महिला पुरुष राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको आयोजना हुने भएको छ । तीनवटै विभागीय टीम समेतको सहभागिता रहने उक्त प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी पनि दिईएको छ । सप्तरी कुनै समय कुशल खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा चिनिँदै आएको थियो । तर, केही समय यता यहाँ खेलकूद सम्बन्धि गतिबिधिमा कमी आउन थालेको आभाष भईरहेको अवस्थामा राष्ट्रियस्तरको यो प्रतियोगिताको आयोजना हुनु अवश्य पनि खुशीको विषय हो ।
खेलकूदमा खेलाडीको उत्साह बढाउनकालागि जसरी प्रशिक्षणको आवश्यकता हुन्छ उसै गरी खेलकूद प्रतियोगिताको आयोजना हुँदा आम जनमानसको पनि खेलप्रति रुचीमा बृद्धि हुन्छ । यस प्रकारका प्रतियोगिताको आयोजना हुँदा सम्बन्धित खेलका देशभरिकै खेलाडीको एकै ठाउँमा जमघटको अवसर जुट्ने भएका कारणले पनि यसको खास महत्व छ ।
खेलले कुनै स्थान मात्रको नभई देशकै प्रतिष्ठा बढाउनमा योगदान दिने भएका कारण यसको उत्थानकालागि सरकारले लगानी बढाउन जरुरी छ । केन्द्रमा मात्र नभई स्थानीय स्तरसम्म खेलको विकासकालागि सरकारले कार्यक्रम पु¥याउन सक्यो भने यसबाट उदीयमान खेलाडीहरुले सबैतिर अवसर पाउने हुनाले एकै स्थानमा भन्दा पनि खेलकूदको विकासको कार्यक्रमलाई विकेन्द्रीत रुपमा लैजानु पर्ने हुन्छ । सप्तरीले पनि अन्तर्राष्ट्रियस्तर सम्मका खेलाडी उत्पादन गरेको छ ।
यस कारणले पनि यो जिल्ला खेलकालागि उर्बर मानिएको हो । खेलकूदको विकासकालागि पहिला खेलाडीले अवसर पाउन जरुरी हुन्छ । अवसर पाउन सकेनन् भने उनीहरुमा रहेको प्रतिभा प्रष्फूटित हुन पाउँदैन । यस्तै ठूला खालका प्रतियोगिता आयोजना गरिएमा बातावरण खेलमय बन्ने तथा आम जनमानसमा पनि खेलप्रति रुची बढ्ने भएका कारण राजविराजमा निकट भविष्यमा सञ्चालन हुन लागेको राष्ट्रिय भारोत्तोलन प्रतियोगितालाई महत्वका साथ हेरिएको छ ।
जिल्लामा खेलकूदका गतिबिधि बढाउनकालागि केन्द्र सरकारका साथै प्रदेश र स्थानीय सरकारको भूमिकालाई पनि अलग तुल्याउन मिल्दैन । खेलको विकास भएमा तीनवटै सरकारले पनि जस पाउने भएका कारण यस क्षेत्रमा लगानी गर्न सबैको तदारुकता आवश्यक छ । यस्तो बातावरण भएमा यस जिल्लामा पनि खेलकूदको विकास छिट्टै हुने अपेक्षा लिन सकिन्छ ।