सुन्दर गुलाबी शहर भारतस्थित जयपुरको नक्सासित मिल्दोजुल्दो गरी बसाईएको राजविराज देशको प्रथम टाउन प्लानिंगको नगर हो । यसका विविध विशेषता रहेका छन् । व्यवस्थित सहर बनाईको भए पनि यो पुरानो नगर यति बेला विभिन्न समस्याका कारणले ग्रसित हुँदै गएको छ । ढलनालाको समस्या, खानेपानीमा नगरवासीको पहुँचमा कमी, सरसफाईको समस्या, फोहर व्यवस्थापन लगायत विभिन्न कारणले नगर क्षेत्र निकै अस्तव्यस्त बनेको छ ।
यिनै मध्येको एक समस्या राजविराजमा सार्वजनिक स्थलमाथिको अतिक्रमण पनि रहेको छ । केही दसक अघिसम्म नगर क्षेत्रमा पुराना ईनारहरु थिए । तीमध्ये धेरै जसो अहिले लोप भईसकेका छन् । ईनार मासेर मानिसले कतै घर बनाए भने कतै अन्य प्रयोजनमा ती स्थानको प्रयोग भईरहेको छ । नगरपालिका क्षेत्रका कतिपय गल्ली पनि अतिक्रमणको चपेटामा परेका छन् । तिनलाई अतिक्रमणमुक्त गराउन नगरपालिकाले नै पहल थाल्नु पर्ने भए पनि वास्ता नगरेको भान हुन थालेको छ ।
राजविराजको राजरंगशालाको अवस्था पनि बेहाल अवस्थामा छ । प्याराफिट तल मानिसले बसोबास थालेको तथा घेरबेर अभावका कारण यो खेलमैदानमा खुला सौचालय बन्ने खतरा बढेको छ । बाहिरबाट आउनेहरुले मैदानलाई नै बाटाको रुपमा प्रयोग गर्ने, पिसाब गर्ने गरेका कारणले उक्त स्थान दुर्गन्धित बन्दै गएको छ । अतिक्रमण गरिएका गल्लीमध्ये केही सञ्चालनमा रहेका भए पनि बाँकीलाई पनि त्यसै गरी सञ्चालनमा ल्याउन सकियो भने मात्र मूल सडक माथिको चाप घटाउन सकिने छ । यसका साथै नगर क्षेत्रको सरसफाईमा सुधारकालागि पनि अतिक्रमित गल्लीहरुलाई सञ्चालनमा ल्याउन जरुरी छ ।
कतिपयले प्रभाव र पहुँचका आधारमा यसरी सार्वजनिक स्थललाई अतिक्रमण गरिराखेका छन् । नगरपालिकाले सार्वजनिक स्थलमाथिको अतिक्रमण रोक्नकालागि पनि उसलाई कानूनी आधार नरहेको होईन । नगरको सुन्दरता बढाउन तथा व्यवस्थित नगर निर्माणकालागि पनि यस्ता अतिक्रमण रोक्न जरुरी देखिन्छ । सञ्चालनमा नरहेका गल्लीहरुमा सरसफाई तथा स्तरीकरण गरी त्यहाँबाट सर्वसाधारणलाई आवागमनमा सहजता पुर्याउनकालागि नगरपालिकाले ध्यान दियो भने यसलाई पनि उपलब्धिका रुपमा लिन सकिने छ ।
समग्रमा हेर्दा यस पुरानो नगरीको अवस्थामा सुधारकालागि सरोकारवाला सबैले चासो देखाए यसको बिग्रँदै गएको सवरुपमा निश्चय पनि सुधार आउने छ । यसकालागि सबै पक्षबाट सहयोग जरुरी छ ।