• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजविराज नगरपालिकामा खानेपानीको बितरण अहिले पनि सर्बसुलभ हुन सकिरहेको छैन । नगरपालिकाको क्षेत्र बढेपछि ती सबै नगरक्षेत्रका जनतालाई खानेपानी सहज रुपमा उपलब्ध गराउन उसै पनि चुनौति थपिएको छ । उता कतिपय उपभोक्ताले खानेपानी उपभोग गरेबापतको महशुल पनि बर्षौंदेखि बक्यौता राखेका कारण खानेपानी योजनाको विस्तारमा पनि समस्या उत्पन्न भएको अवस्था उल्लेख गरिरहन नपर्ला ।

खानेपानीको महशुल बक्यौता राख्नेमा स्वयम् राजविराज नगरपालिकाका पनि अग्र स्थानमा देखिएको छ । उक्त नगरपालिकाले सात लाख भन्दा बढी रकम महशुलबापत तिर्न बाँकी रहँदा पनि नतिरेको कारण अरु धेरैमाथि रहेको बक्यौता पनि कसरी असुल गर्ने भन्ने चुनौति छ । नगरपालिकाका जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउनकालागि स्थानीय सरकारका रुपमा रहेको नगरपालिकाको पनि महत्वपूर्ण भूमिका रहने हुन्छ ।

पानी उपभोग बापतको महशुल केही उच्च पदमा बसिसकेकाहरुले पनि नतिरेको खानेपानी संस्थान राजविराज शाखाले जानकारी दिएको छ । यसरी उच्च पदमा रहिसकेका व्यक्ति तथा अन्य कतिपय सरकारी कार्यालयले पनि महशुल रकम नतिरेका कारण यसरी बाँकी राख्दै जाने हो भने यसले संस्थान नै घाटामा जाने र सर्वसाधारणलाई स्वच्छ पानी पाउने अवसर पनि गुमेर जान नसक्ला कसरी भन्ने ? सार्वजनिक संस्थानको आम्दानी भए मात्र यसले सेवामा पनि निरन्तरता दिने हुन्छ । संस्थानले पनि बाँकी राख्नेहरुको लगत मात्र सुरक्षित राख्ने होईन बाँकी असुल्नेतिर पनि तदारुकताका साथ लाग्न जरुरी छ ।

उसै पनि राजविराज नगरपालिकाका अधिकांश बासिन्दा अहिले पनि संस्थानको पानी उपभोग गर्न नपाईरहेको अवस्था छ । सबै वडामा संस्थानको सेवा विस्तार नभएका कारणले नै यो अवस्था उत्पन्न भएको हो । वर्षौं अघिदेखि जडान गरिएका पानीका पाईप पनि पुराना भएका कारण नयाँ पाईप फेर्नु पर्ने अवस्था आएको छ । ठाउँठाउँ फूटेका पाईपबाट पानी लिकेज हुनाका साथै सर्वसाधारणले उपभोग गर्ने पानी दूषित हुने जोखिम समेत बढेको छ ।

सेवामा सुधारकालागि संस्थानले ध्यान दिनु त आवश्यक छँदै छ । यसका साथै आफ्नो आयस्तरमा पनि बढोत्तरी गर्न सके संस्थानको मुनाफा पनि बढ्ने तथा यसबाट सेवामा समेत सुधार ल्याउन सकिने भएका कारण बक्यौता असुलीमा कडाईका साथ लाग्न जरुरी देखिन्छ ।