• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राजनीतिक दलका नेताहरु जनताकहाँ निर्वाचनका क्रममा सबैभन्दा बढी धाउने गर्छन् । यस क्रममा उनीहरुको पत्याउन सकिने, नसकिने सबै थरिका प्रतिबध्दता सुन्न पाईन्छ । जनता त बिभिन्न समस्यासित जुध्न अभ्यस्त नै भईसकेका छन् । तर पनि कसै न कसैलाई मत दिनु त छँदैछ । जनताले मत दिन्छन्, एक जना विजयी भएर जान्छन् । तर, गएपछि गरेको प्रतिबद्धता कता जान्छ त्यसको अत्तोपत्तो रहँदैन । यदि रहन्थ्यो त नेताले गरेको बाचा कबुललाई त जितेर गएपछि पूरा गरिदिनु पथ्र्यो होईन र ? हो, यही काम नगरेका कारण यो आश्वासन र प्रतिबद्धता फगत चुनावी नारामा मात्र सिमित हुँदै आएको छ ।

अहिले प्रतिनिधिसभा बिघटन गरिएपछि फेरि नेताहरुको घरदैलो जस्तै ठाउँठाउँ आमसभा चल्न थालेका छन् । आमसभामा भलै नेताहरु आफ्ना बिरोधीको खोईरो खन्न थालेका छन् । तर, जनताले कसको विश्वास गर्ने भनि अहिलेसम्म यकीन गर्न नसकिरहेको अवस्था छ । जुन जोगी आए पनि कानै चिरेको,भन्ने उखान जस्तै बहुसंख्यक नेपाली जनताले अहिलेसम्म नेताहरुको प्रतिबद्धता अधुरै रहेको पाएपछि यकीन गरुन् पनि कसरी ? प्रतिधिसभा बिघटन बिरुद्धको मुद्दा अहिले सर्बोच्च अदालतमा सुनुवाईका क्रममा छ । तथापि दलका नेताहरुको देशदौडाहा, पार्टी प्रबेश कार्यक्रममा सहभागिताले भित्रभित्रै कतै यो चुनावी तयारी त होईन? भनि लख काट्नेहरुको पनि कमी छैन ।

नेताहरु निर्वाचन जितेपछि जनताका सामु गरिएका प्रतिबद्धता पूरा गर्नकालागि उदासिन रहे पनि निर्वाचनका समयमा भने जनताको घरदैलोमा जाने नै गर्दछन् । निर्वाचनपूर्व गरिने यो दौडधूप चुनावमा विजयी भएपछि पनि कायम रहने थियो भने जनताका तर्फबाट गुनासो गर्ने ठाउँपनि रहने थिएन कि ? जनताकालागि राजनीति गरेको भन्न रुचाउने नेतागणले जनताकै साथमा रहनु जरुरी छ ।

जनताका साथमा रहनु भनेको उनीहरुका समस्याका बारेमा निरन्तर चासो देखाउनु नै हो । सरकारले समृध्द नेपाल सुखी नेपालीको नारामा जोड दिने गरेको भए पनि जनता सामु बग्रेल्ती समस्याका थुप्रा छन् । तिनको समाधानकालागि सरकारको ध्यानाकर्षण गर्ने जिम्मा पनि नेताहरुकै भएका कारण यो जिम्मेवारीबाट विमुख रहन मिल्दैन । त्यसैले जनताका साथमा निरन्तर रहने परम्परा कायम गर्न सकियो भने यस्तो राजनीति नै दीगो बन्न सक्दछ भनि बुझ्न जरुरी छ ।