Top_Header_Right_Add

सबैको सम्मान नै दीगो लोकतन्त्र

सबैको सम्मान नै दीगो लोकतन्त्र

नेपालमा भएका हरेक जसो अधिकार प्राप्तीका आन्दोलनमा मधेशको सहभागिता अरुको भन्दा कम रहेन । राणाकाल, पञ्चायती शासन, शाही शासनकाल वा बिभिन्न समयमा भएका आन्दोलनमा मधेशले आफ्नो ठाउँबाट आन्दोलनमा ऊर्जा नथपेको आन्दोलनै छैन भन्दा पनि हुन्छ । सबै प्रकारका विचार तथा भावनालाई समेट्न सकियो भने मात्र लोकतन्त्रको सुन्दरतामा अझै निखार आउने भएका कारण लोकतन्त्रमा मधेशको भावनालाई पनि पूर्ण स्थान दिन जरुरी रहेको कुरा अहिले पनि उठ्ने गरेको छ ।

पछिल्लो चरणमा भएका सबै जसो आन्दोलनमा पनि जनताका अधिकारलाई नै सर्बोपरि मानिएको जगजाहेर छ । संबिधानसभाबाट बनेको बर्तमान संबिधानमा पनि केही विषय अझै नमिलेको भन्दै मधेशमा यसलाई संशोधन गरी सच्याउनु पर्ने कुरा अहिले पनि उठ्ने नै गरेको छ । राणा, पञ्चायत तथा शाही स्वेच्छाचारी शासन कालमा मधेशमाथि गरिएको विभेदका कारणले यहाँ एक प्रकारको उकुसमुकुस रहेकै थियो ।

प्रजातन्त्र आएपछि पनि मधेशले माग गरेको संघीयताका विषयलाई आझेलमा पार्ने प्रयास भएपछि त्यसको बिरोधमा मधेशमा बिद्रोह नै भयो । यसपछि पनि पटक–पटक मधेशमा आन्दोलन भएकै हुन् । यस बाहेक माओवादी जनयुध्द,थरुहट वा अन्य विभिन्न आन्दोलनमा पनि मधेशका जनताको साथ समर्थन नरहेको होईन । जनताका भावनामाथि सम्मान गर्दा नै लोकतन्त्रमा सबैले अपनत्वको अनुभूति गर्न पाउँछन् ।

मुलुकमा परिवर्तन आएको बताईएपनि मधेशको भावनालाई नजरअन्दाज गर्ने प्रयास भएका कारणले नै यहाँ पटक–पटक आन्दोलन भएको हो । जनभावनाको उपेक्षाले बिरोधको भावना जागृत हुने र यही बिरोध अन्त्यमा बिद्रोहमा रुपान्तरित हुने भएकाले शासक वर्गले सबै जनताको भावनालाई आत्मसात गर्न सक्नु पर्दछ । यस्तो भएमा मात्र व्यक्ति व्यक्तिमा आत्मसम्मानको अनुभूति मिल्दछ ।

लोकतन्त्रमा सार्वभौम सत्ताका मालिक जनता भएका कारण हरेक नागरिकको आत्मसम्मान हुनै पर्दछ । जनताका छोराछोरी नै राष्ट्रको प्रमुख जिम्मेवारीमा पुग्ने व्यवस्था बर्तमान संबिधानमा ग्यारेण्टी पनि गरिएका कारण सबैको समान हक स्थापित गरिएको छ । यो व्यवस्था संबिधानमै लिपिबध्द रहेका कारण जात, धर्म, वर्ण, लिंग, क्षेत्र वा कुनै पनि आधारमा गरिने विभेद कसैकालागि पनि स्वीकार्य हुन सक्दैन । लोकतन्त्रको सबलीकरणकालागि पनि सबै नेपाली जनताको भावना समेट्दै अघि बढ्नु नै उत्तम हो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer