विद्याकी अधिष्ठात्री देवी माता सरस्वतीको आज पूजनोत्सवको दिन अर्थात बसन्त पञ्चमी । विष्णुपुराणका अनुसार जब ब्रह्माले सृष्टिको रचना गरे तर बाणी आएन । यसकालागि ब्रह्मा विष्णुकहाँ गएर यसबारे बताउँदा विष्णुले सृष्टिकर्ता भएका कारण मानवमा बाणी दिने जिम्मेवारी पनि उहाँकै भएको बताए । तब ब्रह्माले आफ्नो कमण्डलुको जल छर्किए । त्यसबाट एक शक्तिको रुप निस्क्यो जसका दुबै हातमा बिणा, विद्या, पुस्तक र माला थिए । तब ब्रह्माले उनलाई सरस्वतीको रुप धारण गरेको भन्दै आजदेखि तपाइँ सरस्वती हुनु भयो भनि बताए ।
ब्रह्माले उनलाई सृष्टि गरेका सबै मनुष्यमा बाणी भरिदिन आग्रह गरेपछि सरस्वतीले बिणा बजाएर मनुष्य लगायत सबैमा बाणी भरिदिईन् । तब विष्णुले आजदेखि जसले सरस्वतीको पूजा गर्छन् उसलाई ज्ञान, विद्या र स्वर्गको प्राप्ती हुनेछ भनि बताएको विष्णुपुराणमा उल्लेख छ ।
बसन्त पञ्चमी वा श्रीपञ्चमी जे भने पनि यस दिन विद्याकी देवी सरस्वतीको भव्यताका साथ पूजा अर्चना गर्ने गरिन्छ । माघ शुक्ल पञ्चमीका तिथिमा मनाईने सरस्वती पूजाकै दिनदेखि ऋतुराज बसन्तको सुरुवात हुने भएका कारण यस दिनको खास महत्व छ । विद्याकी देवी भएका कारण विशेषत यस दिन विद्यालय तथा शिक्षण संस्थाहरुमा बिधिपूर्वक पूजाआजा गर्ने परम्परा रहिआएको छ ।
यसैगरी पुस्तकालय, संगीत सिकाउने संस्थाहरुमा पनि विद्याकी देवीको भव्यताका साथ पूजा गर्ने गरिन्छ । मानिसलगायत पशुपंक्षीमा समेत उत्साह दिने बसन्त ऋतु विशेष महत्वको त छ नै । यसै समयमा गरिने सरस्वती पूजाको महत्व नहुने कुरै भएन । संसार भरिका जीवमा पनि श्रेष्ठ मानिने मानवकालागि ज्ञानको अपरिहार्यता बताईरहन नपर्ला । ज्ञानकै कारण मानवले प्राणीमै सर्बश्रेष्ठता हासिल गरेका कारण ज्ञान र विद्याकी देवी माता सरस्वतीको बन्दना महत्वपूर्ण छ ।
भौतिक प्रगतिका साथै मानवमा आध्यात्मिकताको पनि जरुरी पर्ने भएका कारण सरस्वतीले दिने ज्ञानको सदुपयोग गरी मानव कल्याणमा अघि बढ्न सकियो भने सबैको हित हुनेछ । रिस राग द्वेशबाट मुक्त रहँदै आध्यात्मिक रुपमा समस्त प्राणी जगतको कल्याणकालागि काम गर्न सकियो भने अवश्य पनि जीवनको सार्थकता बढ्ने छ । विद्यादायिनी माता सरस्वतीको पूजाअर्चनाको यस पावन अवसरमा हाम्रो पनि सबैमा मंगलमय शुभकामना ।