पूर्व माओवादीहरुले शनिबार २६औं जनयुद्ध दिवस मनाएका छन् । गणतन्त्र र जनवादी सत्ता स्थापनाको उद्देश्यकासाथ तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेकै दिनदेखि सशस्त्र जनयुध्दको सुरुवात गरेको थियो । देशभरि क्रमशः फैलिँदै गएको जनयुद्धको प्रभावले धेरैले ज्यान गुमाउनु परेको विदितै छ ।
बदलाको भावका साथ सरकार तथा विद्रोही माओवादी बीच चलेका हत्याका श्रृंखलाका कारण समग्र मुलुक नै आक्रान्त बनेको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले देशमा जारी द्वन्दलाई नै कारण देखाई सत्ता हथियाएपछि सात राजनीतिक दल तथा माओवादी बीच १२ बूँदे सहमति भएको हो । त्यसपछि चलेको १९ दिनको जनआन्दोलनले विघटित संसद पुनस्र्थापना गरी माओवादी २०६३ मंसिर ५ गते शान्ति प्रक्रियामा आएका हुन् । यहि पुनस्र्थापित संसदले नै २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको अन्त्य सहित गणतन्त्रको स्थापना गरेको हो । यस हिसाबले गणतन्त्र स्थापनामा माओवादीको भूमिका पनि प्रमुख रहेको जगजाहेर नै छ ।
गणतन्त्र स्थापना तथा संबिधानसभाबाट नयाँ संबिधान जारी भएपछि त्यसको कार्यान्वयन स्वरुप स्थानीय, प्रदेश तथा केन्द्रको निर्वाचन सम्पन्न भई तीनवटै निकायमा सरकारको उपस्थिति रहेको हो । संबिधानसभाबाट बनेको नयाा संबिधानले गणतन्त्र, धर्मनिरपेक्षता तथा संघीयता जस्ता उपलब्धिको ग्यारेण्टी गरेको त छ । तर, अहिले मुलुकमा देखा परेको राजनीतिक विग्रहका कारणले फेरि पनि पाएको उपलब्धि नै गुमेर जाने हो कि भन्ने चिन्ता पनि उत्पन्न भएको छ ।
जनयुद्ध दिवसमा विगतको आन्दोलनका बारेमा स्मरण गरिएको भए पनि त्यसको धरातलबाट आएको उपलब्धिलाई जगेर्ना कसरी गर्न सकिन्छ भन्नेमा पनि सोच्नु पर्ने बेला आएको छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनुका पछाडि बिभिन्न आन्दोलनहरुको सर्बोपरि महत्व रहेको विदितै छ । दोस्रो जनआन्दोलन, मधेश आन्दोलनलगायत अन्य बिभिन्न समयमा भएका आन्दोलन जस्तै माओवादी जनयुद्धको महत्व पनि यसमा निकै महत्वपूर्ण रहेको छ ।
जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउनमा आन्दोलनबाट आएको उपलब्धि जोगाउनाका साथसाथै मुलुकमा विकास र सुशासन दिन जरुरी छ । यिनै बिभिन्न आन्दोलनको उपलब्धिका रुपमा संबिधानसभाबाट नयाँ संबिधान निर्माण भई यति बेला मुलुक संघीयतामा समेत गईसकेको छ । अब विकास, शान्ति तथा सुशासनकालागि राजनीतिक दलहरुले जोड दिनुपर्ने बेलामा फेरि राजनीतिक अस्थिरताका संकेतहरु देखा पर्न थालिसकेका छन् ।
त्यसैले विगतका बलिदानीको स्मरणका साथसाथै त्यसले ल्याएको उपलब्धि कसरी सुरक्षित गर्न सकिन्छ भन्नेमा पनि चिन्तन गरिनु आवश्यक छ ।