• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरेपछि सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) भित्र अहिले शक्ति प्रदर्शनको होडबाजी तिब्र रुपमा चल्न थालेको छ । गत पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरेपछि दुई समूहमा विभाजित भएको नेकपाको शक्तिशाली भन्ने देखाउन अहिले होड चलेको हो । एक समूहको नेतृत्व स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्को समूहको प्रचण्ड र माधव नेपालले नेतृत्व गर्दै आएका छन् ।

प्रचण्ड माधव समूहले माघ १४ गते प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै राजधानी काठमाण्डौंमा शक्ति प्रदर्शन गरेको थियो । त्यसको १० दिन पछि प्रधानमन्त्री ओली पक्षले पनि २३ गते राजधानीमै शक्ति प्रदर्शन ग¥यो । फेरि प्रचण्ड माधव पक्षले बुधबार राजधानीमा नै अर्को सभा गरेर आफ्ना धारणा प्रस्तुत गरेको छ ।

सत्तामा बहुमत रहेपनि प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रबाट केही नेताको असहयोगका कारण काम गर्न नसकेको जनाउँदै प्रतिनिधिसभा बिघटन गरेपछि प्रचण्ड माधव समूह चिढिएको छ । केही नेता तथा कार्यकर्ता कुन समूहमा जाने भनि अलमलिएको अवस्थामा तिनलाई प्रभावित पार्नकालागि पनि यस प्रकारको शक्ति प्रदर्शन गरिएको बताउन थालिएको छ ।

बुधबार आयोजित जनसभामा प्रधानमन्त्रीले संबिधान मिचेर गर्ने निर्वाचनको अर्थ निरंकुशताकै पुनराबृत्ति हुने भन्दै पहिले संबिधान मिचेर गरिएको कामलाई सच्याउन जरुरी रहेको बताएका छन् । उता प्रधानमन्त्रीले चाहिँ जनताको ताजा अभिमत लिनकालागि निर्वाचनमा गएको तर्क दिँदैछन् । जनताका नाममा नै राजनीति गरेको भन्न प्रायः सबै दलका नेताहरु रुचाउँछन् । तर, वास्तविकता चाहिँ के देखिन्छ भने जनताले दुःख पाईरहँदा पनि उनीहरुको कष्टहरण गर्ने काम अहिले पनि हुन सकिरहेको छैन ।

कोरोनाको कहरले देश आक्रान्त छ, बेरोजगारीको कहाली लाग्दो अवस्था कायमै छ । चरम गरिबीका कारण कतिपय नेपाली जनताले लालाबाला लिएर आत्महत्या नै गरेको खबर आउने गर्दछ । ती विपन्न जनताका आँशु पुछ्ने काम कहिले होला ? पहिला यसतर्फ बिचार पु¥याउन जरुरी छ । जनताकालागि जसले काम गर्न सक्यो ऊ नै वास्तविक जनप्रतिनिधि हो । उसले गरेको राजनीति नै जनसेवाको परिचायक बन्नेमा पनि शंका रहन्न ।

देशको बिग्रँदो अवस्थामा सुधार कसरी ल्याउन सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर काम गर्नेकै राजनीति दीगो हुने भएका कारण राजनीतिक दलहरुले आफ्नो क्षमतालाई यसै काममा सदुपयोग गर्न जरुरी छ ।