• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सरकारले बंगलादेशबाट ल्याउने भनेको रसायनिक मलको खरिद प्रक्रिया बल्ल सुरु भएको छ । सरकार सरकार बीच जिटुजी सम्झौताअनुसार मलको खरिद प्रक्रिया सुरु भएको कृषि सामग्री कम्पनीले जानकारी दिएको छ ।

नेपालमा मल ढुवानी गर्ने कम्पनीले बंगलादेशमा मल बुझ्न थालेका कारण अब चाहिँ रसायनिक मल आई पुग्ने विश्वास लिईएको छ । केही समयको समस्या समाधानमा यो रसायनिक मलले धाने पनि यसले दीर्घकालीन समयसम्म धान्न नसक्ने चाहिँ निश्चित छ । भलै केही समय त यसबाट काम चलाउन सकिएला । नेपालमा रसायनिक मलको समस्या पटक पटक दोहोरिने गरेको विषय नौलो होईन । बाहिरबाट आयात गरेकै भरमा काम चलाउने गरिएको भए पनि समयमा आयात नगरेका कारणले किसानले पटक पटक मल अभावको समस्यासित जुध्नु पर्ने बाध्यताले छोडेको छैन ।

कृषिप्रधान मुलुक भएर पनि किसानले बारम्बार यस्ता समस्याको सामना गर्नु पर्दा पनि यसको दीगो समाधानमा सरकारले ध्यान नदिनु भनेको बिडम्बना नै भएको छ । सरकार एकातिर कृषिको उत्थानमा विशेष जोड दिने बताईरहन्छ तर, अर्कातिर किसान चाहिँ सधैं मलको अभाव, सिँचाईको असुबिधा अनि उन्नत जातको बीऊबिजनको अभावका कारणले छटपटाईरहनु परेको अवस्था छ । भनाई एकथरि हुनु अनि वास्तविकता चाहिँ अर्को थरिको भए पनि सरकारमाथि जनताले कसरी विश्वास गर्ने ? रसायनिक मल एक पटक ल्याएर त तत्कालको समस्या समाधान होला । तर, फेरि पनि कृषि कर्मकालागि यसको आवश्यकता पर्ने नै भएपछि स्वदेशमै यसको उत्पादनकालागि पनि पहल थाल्नु आवश्यक हो ।

मुलुकको अर्थतन्त्र नै मूलतः कृषिमाथि आधारित भएको अवस्थामा किसानले भोग्नु परेका समस्या समाधानलाई पहिलो आवश्यकताका रुपमा लिन जरुरी छ । मुलुकको समृद्धिसित सिधा जोडिएका कारण कृषि क्षेत्रको उत्थानका सबालमा आलटाल वा आश्वासनले मात्र काम चल्छ भन्न कदापि सकिन्न । बाहिरबाट आयात गर्ने मलका आधारमा मात्र नेपाली किसानले रसायनिक मलको अभावलाई कहिलेसम्म धान्लान् ? यस बारे सोच्नै पर्ने बेला आएको छ । कृषिमा आएको ह्रासका कारणले गर्दा नै मुलुक अहिले खाद्यान्नदेखि तरकारीसम्म बाहिरबाट आयात गर्नु पर्ने अवस्थामा पुगेको छ । समृद्धिको नारा दिन रुचाउने सरकारले उक्त लक्ष हासिल गर्नकालागि पहिले किसानका समस्यातिर चासो देखाउन जरुरी छ ।