• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जनतालाई सास्ती दिने तथा मुलुकलाई नै ठूलो नोक्सानी पु¥याउने बन्दका कार्यक्रमलाई सदाकालागि बन्द गरियोस् भनि बिभिन्न कोणबाट आवाज उठ्दै आएको छ । द्वन्द्व कालदेखि विभिन्न चरणका आन्दोलनका क्रममा समेत बिभिन्न दल तथा समूहले पटक–पटक आयोजना गरेका बन्दले जनताले पाउनुसम्म सास्ती पाईसकेका छन् । पछिल्लो चरणमा कोरोनाको महामारीका कारणले गरिएको लकडाउन तथा निषेधाज्ञाका क्रममा पनि महिनौं बन्द गरियो ।

यसले देशको अर्थतन्त्रलाई नै नराम्ररी गाँज्यो जसको परिपूर्ति अहिलेसम्म हुन सकेको छैन । बन्दका कारणले गर्दा नै व्यवसाय चौपट भयो, कति ऋणमा डुबेका कारण आत्महत्या नै गरेका घटना समेत छन् । जनताले बन्द नगरियोस् भन्ने चाहना राखेका भए पनि घुमाईफिराई बन्द नै गरिने गरेका कारण पीडामाथि पीडा थप्ने काम भए । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले अब बन्दका कार्यक्रम नगरिने भनि बताएका पनि हुन् । तथापि बिहीबार सोही पार्टीको एक समूहले देशव्यापी आमहडताल गरेको छ ।

दिन भरिको बन्दका कारणले जनताले पाउनुसम्म सास्ती पाए । बन्दका आयोजक कतिपय नेता भने सवारी साधनमा चढेर बन्दको अबलोकन तथा सहभागिता जनाउन गएको पनि देखियो । सत्तामा गएको बेला बन्द नगर्ने प्रतिबद्धता जनाउने अनि सत्तामा नरहेको समयमा भने त्यही बन्दको कार्यक्रमलाई दोहो¥याउने गरेका कारणले जनताले दुःख पाईरहनुपर्ने अवस्था छ । जनताकालागि आन्दोलन गरेको भन्ने अनि बारम्बार जनतालाई नै कष्ट दिने कार्यक्रमले बिरोधाभाषको अवस्था ल्याएकोमा आशंका छैन ।

आन्दोलनका कार्यक्रम निर्धारण गर्दा बन्द बाहेकका कार्यक्रम राखेर पनि बिरोध जनाउन नसकिने होईन । बन्दका कारण वालवालिकाको पढाई, बिरामीको उपचार तथा अन्य आवश्यक कुरामा समेत अबरोध ल्याउँछ भन्ने कुरा बुझ्न नसक्नु नै उदेक लाग्दो विषय भएको छ ।

मुलुममा परिवर्तन ल्याउने भन्ने दल वा संगठनले बन्दको विकल्पका बारेमा पनि सोच्न जरुरी भईसकेको छ । बन्दले व्यक्ति व्यक्तिलाई कष्ट दिने मात्र नभई समग्र मुलुकलाई नै अधोगतितिर पु¥याउँछ भन्ने बुझेर पनि यसलाई किन त्याग्न नसकिएको हो ? आन्दोलन गर्दा बन्द नै निर्विकल्प पनि होईन । तर, यसैलाई दोहोर्याई दोहोर्याई बन्दका कार्यक्रम गरिँदा यो एक दीर्घ रोगसरह नै बनेको अवस्था छ ।

अतः बन्दका आयोजकहरुले जनतालाई पर्ने समस्या तथा कष्टका विषयमा गम्भीरताका साथ सोचेर यस्ता कार्यक्रमलाई समाबेश नगर्दा नै उपयुक्त हुनेछ ।