Top_Header_Right_Add

भुक्तानीमा अझै अलमल

भुक्तानीमा अझै अलमल

गत वर्ष भुक्तानी दिलाई दिन माग गर्दै उखुकिसानले राजधानीमा आएर आन्दोलन चर्काए । सरकारले उनीहरुसित माग पूरा गरिदिने भन्दै सम्झौता ग¥यो र आन्दोलनकारी किसान घर फर्किए । तर, किसानले भुक्तानी पाएनन् र यस वर्ष पनि करीब एक महिना चिसोमा राजधानी बसेर फेरि आन्दोलन चर्काए ।

सरकारले एक समयसीमा भित्र उनीहरुको रकम दिलाउने प्रतिबध्दता त गर्यो तर समय बितिसक्दा पनि अझै कतिपयले रकम पाएका छैनन् । चिनी उद्योगी राकेश अग्रवालले पनि किसानको रकम नतिरेको आरोपमा राजधानी काठमाण्डौंमा पक्राउ गरी उनलाई सर्लाही पठाईएको समाचार आएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उनीमाथि ठगीसम्बन्धि उजुरी परेपछि सर्लाही प्रहरीकै पत्राचारको आधारमा काठमाण्डौंबाट पक्रेर उनलाई सर्लाही पठाईएको समाचारमा उल्लेख छ ।

किसानले भुक्तानी नपाएको यो एक उदाहरण मात्र हो । अहिले पनि कतिपय किसान रकम नपाएका कारणले समस्यामा परेका छन् । गृहमन्त्रालयले नै उखुको रकम भुक्तानी नगर्ने चिनी मिलका सञ्चालकलाई पक्रेर कारवाही चलाउन थालेपछि कतिपय किसानले भुक्तानी पाएका पनि छन् । तर, सरकारले गरेको प्रतिबद्धता अनुसार भुक्तानी पाउन बाँकी सबै किसानले रकम पाए भने मात्र सरकारले गरेको सहमति र प्रतिबध्दताको अर्थ रहन्छ ।

मुलुकलाई कृषिप्रधान भनिए पनि नेपाली किसानले अनेकौं समस्याको सामना गर्नु परिरहेको वास्तविकता कसैसित लुकेको छैन । बाली लगाउनेदेखि उत्पादन बेच्नकालागि समेत किसानले अनेक थरिक हण्डर खानु पर्दा पनि उनीहरुको समस्याका बारेमा अहिलेसम्म सरकारको ध्यान नपुग्नुलाई बिडम्बना नै भन्नु पर्दछ । अन्य उत्पादकहरुले आफ्नो उत्पादनको मूल्य आफैं तोक्ने गर्दछन् । तर, किसान मात्र यस्ता श्रमजीवी हुन् जसको उत्पादनको मूल्य अरुले निर्धारण गर्दछन् । अरुले लगाएकै भाउमा बेच्नु पर्ने उनीहरुको बाध्यता अहिले पनि कायमै छ ।

अन्नबाली होस् या अरु उत्पादन, किसानले उचित मूल्य नपाएका कारण घाटा लगाएरै भए पनि बेच्न बाध्य हुनुपर्ने अवस्था छ । त्यसमाथि पनि उखु किसानले त वषौंदेखि उखुको रकम नपाएका कारण उनीहरु साहुको ऋणमा डुब्नु परेको अवस्था छ । यस प्रकारका हैरानीबाट मुक्त हुन नपाउने हो भने नेपालमा कृषिको भविष्य सुनिश्चित छ भन्न सकिँदैन । यस प्रति सरकारले समयमै चासो देखाउन जरुरी छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer