Top_Header_Right_Add

नागरिक आन्दोलनमा दमन

नागरिक आन्दोलनमा दमन

सरकार स्वेच्छाचारी भयो भने नागरिकहरु पनि सडकमा उत्रेर त्यसको बिरोध गर्ने परम्परा नै छ । यही कारणले नागरिक समाज लोकतन्त्र तथा जनताका हिमायती हुन् भन्ने मान्यता छ । जनतामा परेका समस्या तथा सरकारले आफ्नो दायित्व बिर्सेको अवस्था वा अलोकतान्त्रिक गतिबिधि बढ्न थाल्यो भने नागरिक अगुवाहरुले त्यसको खबरदारी गर्र्ने गरेका छन् । अर्को अर्थमा नागरिक अगुवाहरु लोकतन्त्रका हिमायती भन्ने गरिन्छन् ।

नेपालमा लोकतन्त्रको स्थापना तथा प्रतिगमनका बिरुद्ध नागरिक अगुवाहरु सडकमै उत्रेर बिरोधमा सामेल भएको इतिहास छ । अहिले सत्तामा रहेका तथा प्रतिपक्षमा बसेका राजनीतिक पार्टीहरु लोकतन्त्रकालागि आन्दोलन गरिरहेका बखत नागरिक समाजका अगुवाहरुले समेत आन्दोलन थालेर उनीहरुमा ऊर्जा भर्ने काम गरेको जगजाहेर छ । गलत काम तथा बेथितिका बिरुद्ध नागरिक समाजका अगुवाहरुले बोलिसकेपछि त्यसले अरुलाई पनि बोल्नकालागि शक्ति दिने भएका कारणले नागरिक समाजलाई लोकतन्त्रमा अत्यन्त सम्मानका साथ हेर्ने गरिन्छ । तर, यिनै नागरिक अगुवाहरुमाथि केही दिन अघि राजधानीको वालुवाटारमा प्रहरी लगाएर दमन गरिएको छ ।

प्रधानमन्त्रीबाट प्रतिनिधिसभा बिघटन गरिएको बिरोधमा भएको शान्तिपूर्ण बिरोध प्रदर्शनमा प्रहरीबाट दमन भएको हो । बरिष्ठ पत्रकार नारायण वाग्ले, मानवअधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीले बर्बर दमन गरेको छ । लाठी चार्ज तथा पानीका फोहराले हान्दा करीब एक दर्जन प्रदर्शनकारी घाईतेसमेत भएका छन् । लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सुनिश्चित नै रहन्छ । चित्त नबुझेको विषयमा बिरोध जनाउन नपाउने हो भने लोकतन्त्रको अर्थ नै के पो रहला र ? विकृति, बिसंगति, बेथितिका बिरुद्ध बोल्न, लेख्न तथा शान्तिपूर्ण प्रदर्शनमा उत्रन पाउने अधिकार भएर पनि नागरिक अगुवामाथि जसरी निर्मम तरिकाबाट दमन गरियो यसलाई जायज भन्न कदापि सकिँदैन ।

वर्तमान सरकार पनि लोकतन्त्रकै जगमा बनेको सरकार हो । सरकार फेरिएला तर, लोकतन्त्रको जगेर्ना गर्र्ने मामिलामा सबै सरकारले ध्यान दिनै पर्ने हुन्छ । अहिले ल्याएको परिवर्तनमा सहभागिता रहेर पनि सरकारका नेताहरु नागरिक अधिकारकर्मीमाथि नै दमनमा उत्रन्छन् भने लोकतन्त्र सुरक्षित छ भनेर पत्याउने आधार समेत नखस्किएला भन्न सकिँदैन । नागरिक अधिकारकर्मी कुनै खास दलका हिमायती वा कसैकालागि सधैंका बिरोधी होईनन् ।

उनीहरुले त विकृति तथा बिसंगतिका समयमा बिरोध गरी आफ्नो दायित्व पूरा गर्दै आएका छन् । उनीहरुमाथिको दमनले सरकार दमनकारी नीतितर्फ अघि बढ्न लागेको छ भन्ने नै अर्थ लाग्दछ । त्यसै कारण यस्ता दमनकारी गतिबिधि बन्द गरिनु जरुरी छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer