• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

रोजगारीकालागि वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाहरुको बाध्यता भएको छ । स्वदेशमा रोजगारी नपाएका कारणले बाहिरिनुपर्ने नेपाली युवाहरुको नियति बन्ने गरेको हो । तर, बाहिर यसरी खट्दा दुर्घटना वा विरामी परेर उतै मृत्युबरण गर्नुपर्ने दुःखद् अवस्थाको अन्त्य हुन सकेको छैन ।

सरकारले युवाशक्तिलाई बाहिरिनुपर्ने बाध्यताबाट जोगाउन स्वदेशमै रोजगारीका अवसरका बारेमा ध्यान दिनु आवश्यक रहेपनि यसकालागि चासो नदेखाएका कारण बाहिरबाट कमाएर ल्याउने अनि आनन्दसित बस्ने धेरैको सपना उतै मृत्युबरण गर्नुपरेका कारणले उजाडिने गरेको छ । शनिबार मलेशियाबाट १८ वटा शव त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा धेरैका आँखा रसाए । घरको अभिभावक कमाई गर्नकालागि मलेशिया गएकोमा उनको शव आएपछि कतिका परिवारजनमा यति बेला रुवाबासी चलेको छ ।

भाषणमा रोजगारीका अवसरका बारेमा बखान गर्ने गरिएको भएपनि वास्तविकता चाहिँ अहिले पनि लाखौं युवा रोजगारीको खोजीमा बाहिर जानुपर्ने अवस्था छँदैछ । मुलुकको समृद्धिकालागि रोजगारीका अबसरको सुनिश्चितता रहनुको विकल्प छैन । सरकारले समृद्ध नेपाल सुखी नेपालीको लक्ष लिएको बताईरहँदा समृद्धिकालागि आवश्यक रोजगारीको व्यवस्था गर्न जरुरी छ ।

रोजगारी दिने नाममा सरकारको कोषबाट केही रकम लगानी गरिएको भए पनि त्यसमा समेत राजनीति हाबी भएका कारण वास्तविक बेरोजगारलाई रोजगारी दिनकालागि त्यसको सदुपयोग हुन जरुरी थियो । तर, त्यस्तो बजेट पनि आफन्त तथा आफ्ना पार्टीका कार्यकर्तालागि प्राथमिकतामा राखेर दिने गरिनाले धेरै बेरोजगारहरु यस प्रकारका सुबिधाबाट बञ्चितै रहनुपरेको गुनासो पनि कम छैन ।

युवा शक्ति रोजगारीकालागि बिदेशिने गरेका कारण स्वदेशमा जनशक्तिको अभाव छ । यसका कारण कृषि क्षेत्रमा समेत कामदार पाउन गाह्रो भएको अवस्था छ । कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न सके मुलुकमा समृद्धिको ढोका खुल्ने जगजाहेर छ । तर पनि समृद्धिको सपना बाँड्ने गरेको सरकारले कृषिको उत्थानमा पनि सन्तोषजनक तरिकाबाट काम गर्न सकेको छैन । धान खेतिका समयमा आवश्यक रसायनिक मल गहुँ बाली लगाउँदा समेत किसानले पाउन सकेका छैनन् ।

सरकार किसानका समस्याप्रति कति सम्बेदनशील छ भन्नाकालागि यही उदाहरण पर्याप्त हुनेछ । विदेश जान बाध्य युवाहरुलाई स्वदेशमै अडाएर राख्नकालागि रोजगारीकालागि व्यवस्था गर्नुको विकल्प छँदै छैन । सरकारले यो वास्तविकता बुझेर पनि आवश्यक काम गर्न नसक्नुलाई चाहिँ उसको कमजोरी नै भनियो भने त्यो अन्यथा नहोला ।