• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

तराई मधेशमा माघ लागेपछि मौसम बिग्रेपछि चिसो ह्वात्तै बढेको छ । ठण्डीका कारणले सर्वसाधारणको जनजीवन प्रभावित भईरहेको बेला राजनीतिको पारो भने सोही तरिकाले तात्न थालेको छ । प्रधानमन्त्रीले गरेको सिफारिस पछि राष्ट्रपतिले प्रतिनिधिसभा बिघटन गरेपछि यति बेला देशको राजधानी लगायत विभिन्न शहरहरुमा बिरोध प्रदर्शन चल्दै आएको छ । यस क्रममा तराई मधेशमा त अझै आन्दोलनले जोर पक्रेको भान हुन थालेको छ ।

विशेष गरी सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीबाटै प्रधानमन्त्रीको कदमका बिरुद्ध आन्दोलनमा उत्रेको दाहाल नेपाल समूह देशव्यापी आन्दोलनमा छ । यस्तै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले त स्थानीय तहहरुमा समेत बिरोध प्रदर्शनका कार्यक्रम गरिसकेको छ । यस्तै अर्को प्रतिपक्षी जनता समाजवादी पार्टी(जसपा) ले पनि प्रधानमन्त्रीको कदमलाई कडा रुपमा बिरोध गर्दै आएको छ । प्रधानमन्त्रीले चालेको प्रतिनिधिसभा बिघटनको कदम सच्याउन जरुरी रहेको भन्दै उसले बुधबार राजविराजमा बिशाल प्रदर्शन गरेको छ । उक्त पार्टीका शीर्षस्थ नेताहरुले प्रधानमन्त्रीले संबिधान मिचेर प्रतिनिधिसभा भंग गरेको आरोपका साथ आन्दोलनमा सशक्त भएर लाग्नुको विकल्प नरहेको बताएका छन् ।

जनताको बलिदानीबाट आएको उपलब्धि पनि प्रधानमन्त्रीको स्वेच्छाचारी कदमका कारणले गुम्ने अवस्था आएको जसपाका नेताहरुको कथन छ । उसै पनि जसपाले संबिधान संशोधन मार्फत मधेशी, आदिवासी जनजाती, सीमान्तकृत समूदायका असन्तुष्टी सम्बोधन हुनु पर्ने माग उठाउँदै आएको छ । यसका साथै कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीको रिहाईको समेत जसपाले माग गर्दै आएको छ । कोर मधेशका रुपमा लिईने प्रदेश २ मा सरकारकै नेतृत्वमा रहेको जसपाले अहिले जिल्ला जिल्लामा प्रधानमन्त्रीका बिरुद्ध आन्दोलन थालेको छ ।

विभिन्न चरणका आन्दोलनहरुमा अग्रणी मोर्चामा रहेर आन्दोलन गरेको मधेशबाट आन्दोलनका क्रममा धेरैले शहादत प्राप्त गरेका छन् । जनताको अधिकारकालागि आन्दोलनमा उत्रन हरबखत तयार रहने मधेश सचेत नागरिकहरुको बसोबास स्थलका रुपमा समेत चिनिने गरेको छ । लोकतन्त्रकालागि भएका हरेक आन्दोलनमा मधेशको सहभागिता गौरवमय रहेको जगजाहेर छ । अहिले मुलुकमा देखा परेको राजनीति विग्रहलाई ठीक पार्नकालागि पनि मधेशी जनता आन्दोलनमा उत्रन थालिसकेका छन् ।

आफ्नो विगतको गौरवमय सहभागितालाई निरन्तरता दिँदै सरकारबाट हुने हरेक जनबिरोधी कार्यका बिरुद्ध मधेशले यसरी नै शंखघोष गर्ने छ भन्ने कुराको शुभलक्षण पनि यसलाई मान्न सकिन्छ ।