• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कोरोना महामारीका कारण करीब दस महिनादेखि बन्द रहेका विद्यालयहरु अहिले सञ्चालनमा आएका छन् । भिडभाडमा कोरोना संक्रमणको जोखिम बढी रहने गरेका कारण विद्यालय ढिलो गरी सञ्चालनमा आएका हुन् ।

लामो समयसम्म बन्द रहेका कारण विद्यालयमा बालबालिकाको भौतिक उस्थिति रहन सकेको थिएन । सामाजिक दूरी कायम गर्नु पर्ने भएका कारण विद्यालय सञ्चालनकालागि सरकारले अनुमति दिएको थिएन । विद्यालय बन्दका कारण बालबालिका त प्रभावित भए नै । यसका साथसाथै धेरै जसो विद्यालयमा काम गर्ने शिक्षकहरुमाथि पनि यसको प्रभाव कम रहेको भन्न सकिन्न ।

खासगरी निजी विद्यालयमा कार्यरत शिक्षकहरु यसबाट नराम्ररी प्रभावित बन्न पुगे । धेरै विद्यालयले शिक्षकहरुलाई बेतलबी विदामा बस्न बाध्य पार्ने, त्यसो नगरेपनि तलब काटेर दिने,ढिलोगरी तलब दिने लगायतका कारण निजी विद्यालयका शिक्षकहरु पनि समस्यामा परेका थिए । अहिले विद्यालय सञ्चालनमा त आएका छन् । तर,कोरोनाको जोखिम अहिले पनि कायमै रहेका कारण विद्यालय प्रशासनले संक्रमणबाट जोगिनकालागि हरसम्भव उपायको अबलम्बन गर्न जरुरी छ । विद्यालयमा जति पनि विद्यार्थी आएपनि उनीहरुलाई प्रबेश गराउने तर सामाजिक दूरी कायम गराउनेतिर नसोच्ने हो भने फेरि पनि कोरोना संक्रमण बढेर नजाला भनि कसैले भन्न सक्दैनन् होला । विद्यालयमा पनि खास गरी निजी विद्यालयमा बढीभन्दा बढी विद्यार्थी भर्ना लिने होडबाजी नै चल्ने गर्दछ ।

अहिलेको अवस्थामा बढी विद्यार्थीको अपेक्षा गर्नु भन्दा पनि भर्ना लिएका विद्यार्थीलाई कसरी सुरक्षित रुपमा राख्न सकिन्छ भन्ने नै अहम् सबाल हो । बढी मानिसको भिडभाडमा कोरोनाको संक्रमण बढेर जान्छ भन्ने कुरा प्रमाणित नै भईसकेको छ । यस्तो अवस्थामा विद्यालयमा एक्कासी विद्यार्थीको ओईरो लाग्न थालेपछि त्यसमा खुशी भएर रमाउने भन्दा पनि यसलाई एक चुनौतिका रुपमा लिनु पर्ने अहिलेको आवश्यकता हो ।

विद्यालयहरुमा एउटै बेञ्चमा कोचमकोच गरेर विद्यार्थी राख्ने, बसमा विद्यार्थी ओसार्दा पनि कोचेर राख्ने प्रचलन नयाँ होईन । अहिलेको सम्बेदनशील अवस्थामा पनि त्यही पुरानै रबैया दोहोर्याईयो भने संक्रमणको जोखिम फेरि पनि बढेर जाने सम्भावना बढी रहन्छ ।

त्यसैले लामो समयको अन्तरालपछि सञ्चालनमा आएका विद्यालयहरुमा स्वास्थ्य सम्बन्धि साबधानी कत्तिको अपनाईएको छ भन्ने बारेमा सरोकारवाला निकायले पनि चासो राख्न जरुरी छ ।