गत वर्षका तुलनामा यसपालि ठण्डी कम छ । ठण्डीका कारणले ज्यान गुमाउने सम्मको अवस्था यस पटक सप्तरीमा आएको छैन । यस पटक ठण्डीको पुस महिना करीब करीब अन्त्यको चरणमा त छ । तथापि माघ महिना बाँकी नै छ । माघमा पनि ठण्डी बढ्न सक्दैन भन्ने होईन ।
माघमा पनि मौसम बिग्रियो यदि भने यसले विशेषतः विपन्न वर्गलाई पक्कै पनि बढी सताउने निश्चित छ । कोरोनाका कारणले श्रम गरेर जीवीकोपार्जन गरी गुजारा चलाउने वर्ग उसै पनि अहिले समस्यामा छन् । उनीहरुलाई रोजगारीको संकट छ जसले गर्दा विहान बेलुका सहज रुपमा उनीहरुको चुलो पनि बल्न नसकेको अवस्था छ । यस्ताहरुकालागि सरकारले राहत तथा अन्य व्यवस्थाका बारेमा ध्यान दिनु पर्नेमा सरकार पार्टीभित्रकै अनावश्यक विवादमा अलमलिन पुगेको छ । पीडित जनताकालागि सरकारले काम गर्न सक्दा मात्र ऊ जनताप्रति जिम्मेवार छ भन्ने प्रमाणित हुने हो ।
सरकारले आफूहरुकालागि संकटका समयमा केही न केही गर्ला भन्ने उनीहरुको आशा नहोला भन्न सकिँदैन । समस्याका बेलामा नै जनताले सरकारमाथि आशा गर्ने हो । सत्तारुढ दलले पनि जनतालाई संकट परेका बेलामा काम गर्नकालागि घचघच्याउनु पर्ने थियो । तर,त्यसो नगरी पार्टीका जिम्मेवार नेताहरु पनि एकापसमा दोषारोपण गर्ने तथा विवाद निकालेर अल्झिने क्रममा देखिँदैछन् । जनतालाई परेको बेलामा सरकारले मद्दत तथा राहत दिने काम गर्यो भने सरकारप्रति जनताको विश्वास पनि बढेर जाने हो ।
ठण्डीका कारण बिचल्लीमा परेका जनताकालागि कसरी जोगाउन सकिन्छ भन्ने बारेमा स्थानीय,प्रदेश तथा केन्द्र सरकारले चासो देखाउन जरुरी छ । कोरोनाका कारण उसै पनि पीडामा परेका जनतामाथि ठण्डीको पनि पीडा नथपियोस् भन्नाकालागि आवश्यक तयारी अपेक्षित छ । जनताको अपेक्षामाथि निराशा थप्ने होईन बरु सकेसम्म उनीहरुकालागि के के गर्न सकिन्छ यसकालागि तीनवटै तहका सरकारले आवश्यक कदम चाल्नु आवश्यक छ ।
सप्तरीमा पनि विपन्न दलितहरुको बसोबास उल्लेख्य छ । उनीहरुकालागि ठण्डीको कहरमा के के व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा पनि आवश्यक तयारीको आवश्यकता छ । ठण्डीका कारणले सप्तरीमा पनि वर्षेनी जसो मानिसको ज्यान समेत जाने गरेको छ । यस वास्तविकतालाई ध्यानमा राखी आवश्यक तयारीमा जुट्नु नै उत्तम हुनेछ ।