• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरीमा छाडा पशुचौपायाको आतंक अहिले पनि कायमै छ । पछिल्लो पटक सोमबार राती साँढेले हान्दा सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक बृद्धाको मृत्यु भएको छ । सार्वजनिक स्थलमा छाडा पशुचौपायका कारण यस्ता दुर्घटना पटक–पटक हुँदै आएका छन् । अन्यत्रको के कुरा गर्नु, सदरमुकाम राजविराजमा नै छाडा पशुचौपायाको बिगबिगी हट्न सकेको छैन ।

छाडा गाईगोरुदेखि अन्य पशुका कारणले बजारमा किनमेल गर्न जाँदा पनि कति बेला दुर्घटनामा परिने हो भन्ने त्रास कायमै छ । नगर क्षेत्रमा छाडा सुँगुरको पनि उत्तिकै आतंक रहने गरेको छ । नगरपालिका तथा अन्य सम्बन्धित निकायलाई भन्दा पनि अहिलेसम्म यो समस्याको समाधान हुन नसकेको अवस्था छ । नगरपालिकामा छाडा पशुचौपायाका कारणले फोहरमैलादेखि रोगको संक्रमणको खतरा समेत बढ्ने गरेको छ ।

छाडा सुँगुरका कारणले घातक रोग लाग्न सक्ने जनस्वास्थ्यका विज्ञहरुले बताए पनि नगरपालिकाले तिनको नियन्त्रणकालागि प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन । यस्ता समस्यालाई नियन्त्रण गर्नमा नगरपालिकाको भूमिका नै जरुरी छ । स्थानीय तहहरु स्थानीय सरकारका रुपमा काम गरिरहेका छन् । उनीहरुलाई छाडा पशुचौपायाको नियन्त्रणकालागि अधिकार पनि दिईएको छ । पशुचौपायालाई बाँधेर राख्नु पर्नेमा जथाभावी बजारमा खुला छाड्नेमाथि स्थानीय तहहरुले दण्ड जरिबाना पनि गर्न सक्दछन् ।

सदरमुकामलगायत अन्य स्थानीय तहहरुमा पनि छाडा पशुचौपायाहरुको बिगबिगी जारी नै छ । यसतर्फ समयमै कदम नचाल्ने हो भने भविष्यमा अर्को दुर्घटना ननिम्तिएला भन्न सकिन्न । सोमबार राती छिन्नमस्तामा बृध्दाको साँढेको आक्रमणका कारणले ज्यानै लियो ।

यसैगरी पशुचौपायाको आतंक रहने हो भने अर्को यस्तै घटना पनि नदोहोरिएला भन्ने के ग्यारेण्टी ? जनतालाई परेको समस्या प्रति जिम्मेवार निकायले समयमा नै चासो नदेखाउँदा यस्ता दुःखद् घटना भएका छन् । जनताले स्थानीय तहलाई कर दस्तुर तिर्दछन् । स्थानीय तहहरुले पनि यस्ता सार्वजनिक चासोका सबालमा समयमै चासो देखाउँदैनन् भने स्थानीय तहहरु जनताका समस्याका सबालमा गम्भीर छन् भनेर कसरी भन्न सकिएला ? छाडा पशुचौपायाका कारण स्थानीय तहका सबैजसो बासिन्दा उत्तिकै पीडित रहने गर्दछन् ।

जनताका यस्ता सबालमा स्थानीय तहहरुले पनि तदारुकताका साथ काम गरे भने मात्र स्थानीय सरकार जनउत्तरदायी रहेको भन्ने प्रमाणित हुनेछ ।