• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कोरोनाका कारण देशमा आर्थिक गतिबिधि सुस्त छन् । कतिले यही कारणले गर्दा रोजगारी नै गुमाउनु परेको छ भने कतिले समयमा पारिश्रमिक नपाएका कारणले अभावमा जिउनु परिरहेको छ । कोरोनाका कारणले गर्दा नै व्यापार व्यवसाय ओह्रालो लागेका छन् । उद्योगधन्दा कलकारखाना अहिले पनि पहिले जस्तो पूर्ण क्षमतामा चल्न नसकेका कारणले धेरै उद्योगले कामदार कटौति समेत गरेका छन् । समग्रमा अहिले आर्थिक मन्दी छ । तर पनि निर्माण सामग्रीमा भने कोरोना आउनुभन्दा अगाडिको तुलनामा पनि अत्यधिक मूल्य बृद्धि गरिएको छ ।

एकातिर सरकार मूल्य बृद्धि नियन्त्रणमा सजग रहेको बताईरहेको छ तर, व्यवहारमा त्यस्तो नदेखिएका कारण जनताको ढाड सेक्ने काम भईरहेको छ । निर्माण सामग्रीमा यसरी मूल्य बृद्धिका पछाडि उचित कारण देखाउन नसकिएपनि यसका पछाडि ती सामग्रीका व्यवसायीकै मिलेमतोमा यसरी भाउ बढेको भन्ने कुरा अहिले चर्चामा छ । व्यवसायीले नै यसरी गठजोड गरेर भाउ बढाएका हुन् भने त्यसलाई पनि एक प्रकारको सिण्डिकेटकै रुपमा मानियो भने अन्यथा नहोला ।

जनतामाथि महँगीको भार बढाउने कार्य उसै पनि जायज होईन । त्यसमाथि विना कारण सामानको भाउ बढाईन्छ भने यसमा सरकारले निगरानी बढाउन जरुरी हुन्छ । अहिले व्यापार व्यवसायमा शिथिलता आएको समयमा पनि यसरी जथाभावी रुपमा निर्माण सामग्रीको भाउ बढाईन्छ भने सरकारले आँखा चिम्लिनु उचित होईन । व्यापारीको मिलेमतोमा भाउ बढाईएको हो भने सरकारले त्यसका बारेमा आवश्यक कदम चाल्नु पर्ने हुन्छ ।

यदि अन्य कारणले मूल्य बढाईएको रहेछ भने पनि त्यसका बारेमा जनताले जानकारी पाउनु पर्दछ । बजार भाउ उसै पनि बढेका कारण उपभोक्ता वर्ग समस्यामा छन् । त्यसमाथि विना कारण नै निर्माण सामग्रीको पनि जथाभावी भाउ बढाईन्छ भने यस्तो बेलामा जनतालाई राहत दिनकालागि सरकारले नै भूमिका खेल्नु आवश्यक हुन्छ । सरकारका जिम्मेवार मन्त्रीले निर्माण सामग्रीको भाउ यसरी जथाभावी बढाएको प्रति पुनर्बिचार गर्न व्यापारीहरु समक्ष आग्रह गरेका पनि छन् ।

व्यापारी स्वयम्ले यसमा सुधार नगरे सरकारले आवश्यक कदम चाल्ने भनि उनले बताएका पनि छन् । तर पनि निर्माण सामग्रीमा बढाईएको मूल्य घटाउने काम भएको छैन । यस्तो अवस्थामा सरकारले उचित कदम चाल्नु आवश्यक छ ।