आज पृथ्वीजयन्ति अर्थात राष्ट्रिय एकता दिवस । गणतन्त्र आएपछि यस दिवसमा दिने विदा हटाईनुका साथै सरकारी स्तरबाट एकता दिवस मनाउनमा पनि खासै चासो देखाउने गरिएको छैन । तथापि केही संस्थाहरुको सक्रियतामा यस दिन केही न केही कार्यक्रम चाहिँ गरिँदै छ । आधुनिक नेपाल निर्माणको जग निर्माणमा पृथ्वीनारायण शाहको योगदान सदा स्मरणीय रहने छ ।
नेपाल एकीकरणका लागि उनले देखाएको साहस अदम्य रहेकोमा ईतिहास साक्षी छ । पृथ्वीनारायण शाहले गोरखाबाट थालनी गरेको विशाल नेपाल निर्माणको अभियानमा जनजनको साथ थियो । यही कारणले गर्दा नै यो अभियान सफल भएको मान्नु पर्दछ । विसो नगर्चीसित समेत सल्लाह र सम्पर्कबाट एकीकरण अभियान थालनी गरेका कारण उनले जनताको भावना समेत समेटेर यो अभियानलाई अघि बढाएका थिए भन्ने प्रष्ट हुन्छ । हुनत एकीकरणका क्रममा उनले केही जाती विशेषमाथि दमन गरे भनि आलोचना गर्नेहरु पनि नरहेका होईनन् । तथापि आधुनिक नेपाल निर्माणकालागि उनले दिएको योगदान स्मरणीय रहेकोमा आशंका नहोला ।
देशको भौगोलिक अवस्थितिलाई त्यति बेला नै आँकलन गरी उनले नेपाललाई दुई ढुंगा वीचको तरुल भनेका थिए । दुई विशाल मुलुकका वीच रहेको नेपालले आफ्नो परराष्ट्र नीति कस्तो राख्नु पर्दछ भन्ने संकेतका रुपमा यसलाई बुझ्न जरुरी छ । दिव्योपदेशमा उनले घुस खानेको बिरोध गरेका छन् भने मुलुकलाई चार जात छत्तिस बर्णको साझा फूलबारी भनेर सबै नेपालीको भावना जित्ने प्रयास गरेका छन् । उनको दिव्योपदेश अहिले पनि सान्दर्भिक रहेकोमा आशंका छैन । मुलुकमा पटक–पटक परिवर्तनकालागि आन्दोलन भएका छन् जसमा धेरै नेपाली जनताको बलिदानी रहेको छ ।
यति बेला मुलुक राजतन्त्रको अन्त्य संगै गणतन्त्रमा प्रबेश गरिसकेको छ । विगतका कमी कमजोरी परित्याग गरी प्राप्त परिवर्तनको रक्षा गर्दै अघि बढ्नु पर्ने बेलामा फेरि पनि राजनीतिक अस्थिरताका संकेतहरु देखिन थालेका छन् । राजनीतिक दलहरुका बीच टकरावको अवस्था पो आउने हो कि भन्ने चिन्ता बढ्दो छ । मुलुक निर्माणको महाअभियानमा राजनीतिक शक्तिका बीच टकराव होईन यति बेला आपसी एकताको आवश्यकता छ ।
परिवर्तनकारी शक्ति विभाजित होईन एकीकृत भएर देश तथा जनता प्रतिको जिम्मेवारी पूरा गर्नु पर्ने समय हो यो । राष्ट्रिय एकता दिवसका यस अवसरमा जिम्मेवार राजनीति दलहरुले फूटेर होईन जुटेर राष्ट्रिय संकल्प पूरा गर्नेतिर लागून्, राष्ट्रिय एकता दिवसका अवसरमा यही शुभकामना ।