प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बिरुद्धमा देशव्यापी आन्दोलन सुरु भएको छ । संबिधान मिचेर बिघटन गरेको भन्दै बिभिन्न राजनीतिक दलले प्रदर्शन समेत जारी राखेका छन् । उता प्रधानमन्त्रीले आफ्नै पार्टीबाट काम गर्न सरकारलाई अप्ठ्यारो परिस्थिति सिर्जना गरेको भन्दै जनताको मत लिनकालागि प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशकालागि जान लागेको बताउँदै आएका छन् ।
मुलुक कोरोनाका कारणबाट आक्रान्त रहेको बेलामा आन्दोलनमा जानु पर्दा कतै संक्रमण बढ्ने त होईन भन्ने चिन्ता पनि व्यक्त गर्न थालिएको छ । तथापि राजनीतिक दलहरुले देशका बिभिन्न स्थानमा आन्दोलन जारी राख्नै आएका छन् । देशमा व्याप्त निरंकुशतालाई समाप्त गरी गणतन्त्र ल्याउनमा यिनै राजनीतिक दलहरुको भूमिका अहम् रहेको थियो । निरंकुशतन्त्रको अन्त्य तथा लोकतन्त्र स्थापनाकालागि धेरैले शहादत पनि दिएका छन् । जनताले दिएको साथका कारणले आन्दोलन सफल भयो, राजनीतिक दलका नेताहरु नै सत्ताका मालिक बने । तर पनि देशमा अहिले चलेको आन्दोलनले अस्थिरताको लक्षण देखाउन थालेको छ ।
आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नकालागि फेरि पनि राजनीतिक दलहरुले नै सक्रियता देखाउनुको विकल्प छैन । सत्तारुढ दलभित्र नै देखिन थालेको किचलोका कारणले फेरि पनि मुलुकमा अस्थिरता हावी हुने पो हो कि भन्ने चिन्ता थपिएको छ । पार्टीभित्र बढेको गुटबन्दीका कारणले सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) करीब करीब विभाजनकै अवस्थामा पुगिसेका कारण यदि त्यस्तो भयो भने झनै अन्यौलता र अस्थिरता बढ्ने आँकलन समेत गर्न थालिएको छ ।
मुलुकमा सुशासन, राजनीतिक स्थिरता, विकास निर्माण तथा शान्ति सुरक्षा स्थापनामा राजनीतिक दलहरुकै भूमिका प्रमुख हुने भएका कारण गुटको स्वार्थ भन्दा पनि लोकतन्त्रले कसरी स्थायित्व लिन सक्दछ भन्ने विषयलाई प्राथमिकतामा राखेर राजनीतिक दलहरुले काम गर्न जरुरी छ । गुटको स्वार्थका कारण उत्पन्न मतभेद तथा अस्थिरताका कारण पाएको उपलब्धि फेरि पनि गुम्ने अवस्था नआओस् भन्नाकालागि चनाखो रहनु पर्ने आजको आवश्यकता हो ।
सधैंभरि अस्थिरता तथा आन्दोलन मात्र भईरहने हो भने हामीले विकासको काम कहिले अघि बढाऔंला ? राजनीतिक दलहरुले निर्वाचनका समयमा विकास, शान्ति तथा सुशासन दिने भनि प्रतिबद्धता जनाएकै हुन् । त्यही विश्वासका साथ जनताले बलियो बहुमतको सरकार बनाउनकालागि मत पनि दिएर पठाएकै हुन् । तर, अहिले विना मौसमको बाजा झैं राजनीतिक दलहरुकै कारण अस्थिरताको सम्भावना बढेर जान्छ भने अब जनताले कसमाथि भरोशा गर्ने ?