• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

तिलाठी कोईलाडी गाउँपालिकाले धान काट्ने मेशिन लगाएर गाउँपालिका भित्रका सबै किसानहरुको निशुल्क धान काट्ने व्यवस्था मिलाएको छ । चारवटा ट्याक्टर खरिद गरी गाउँपालिकाले रिपर मेशिन समेत जडान गरी निशुल्क धान काट्न थालेपछि किसानले राहत महशुस गरेका छन् ।
बाली लगाउने समयमा जस्तै बाली भित्र्याउने समयमा पनि किसानलाई चटारो हुने गर्दछ । यति बेला कोरोनाको संक्रमण तिब्र रुपमा बढेको तथा कृषि मजदूरको अभाव पनि अभाव रहेको बेलामा आफैं खटेर धान भित्र्याउन समस्या रहेको अवस्थामा गाउँपालिकाले गरेको यस्तो सहयोगबाट किसानले राहत महशुस गरेका हुन् । गाउँपालिकाको लगानीबाट किसानलाई तिलाठी कोईलाडीले जसरी राहत दिएर उदाहरणीय काम गरेको छ जिल्लाका अन्य स्थानीय तहहरुले पनि यस्ता उदाहरणीय काम गरे भने यसबाट जिल्लाभरिका किसानले राहत पाउने अपेक्षा लिन सकिन्छ । यस्तो सहुलियतको व्यवस्था गर्दा स्थानीय तहले सबै किसानमाथि समानताको व्यवहार देखाउन चाहिँ जरुरी छ ।
कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले यस प्रकारको सहुलियत दिँदा आफ्ना आफन्त तथा समर्थकहरुलाई बढी प्राथमिकता दिने गरेका कारणले कतिपयले बञ्चित हुनुपरेको गुनासो पनि नउठ्ने गरेको होईन । त्यसैले सबैमाथि समानताको व्यवहारका साथ काम भयो भने स्थानीय तहको यस्तो उदाहरणीय कामबाट सबैले लाभान्वित हुने मौका पाउनेमा शंका रहन्न । कृषि क्षेत्रको उत्थानकालागि पहिला किसानको उत्साह बढाउन जरुरी हुन्छ । उनीहरुमा उत्साह जगाउनकालागि भोग्नु परिरहेका समस्याको पहिचान गरी तिनको समाधानकालागि तीनवटै सरकारले आआफ्नो स्तरबाट काम गरियो भने यसले कृषिमा उत्थान ल्याउने सम्भावना पनि प्रबल बनेर जानेछ ।
तिलाठी कोईलाडीमा गाउँपालिकाले किसानकालागि यस प्रकारको राहतको काम त थालनी ग¥यो । तर, धानबाली लगाएपछि सोही गाउँपालिकामा फैलेको रोगको समयमा उपचार हुन सकेन जसका कारणले यस पटक सोचे जस्तो उत्पादन नभएको अवस्था विद्यमान छ । बालीमा रोग लागेपछि त्यसमा कीटनाशक औषधिको व्यवस्था तथा आवश्यक प्राबिधिक सरसल्लाह दिने काम सरकारकै हो । तर, यसपालि किसानले त्यस प्रकारको सहयोग नपाएका कारणले गर्दा नोक्सानी व्यहोर्नु परेको छ । उर्बर भूमि भएर पनि सप्तरीको कृषि क्षेत्र पिछडिँदो अवस्थामा छ ।
जिल्लाको विकासमा गति ल्याउनकालागि कृषिको उपेक्षा गरेर सम्भव छैन । सरकारले पनि किसानले व्यहोर्नु परेका समस्या प्रति सहयोगको भावनाका साथ काम गरिदिँदा मात्र किसानमा उत्साह भरिने छ ।