Top_Header_Right_Add

कोरोनाले बिर्सायो श्रमिक दिवस

कोरोनाले बिर्सायो श्रमिक दिवस

अजय कुमार झा
भनिन्छ— श्रम एक त्यस्तो प्रार्थना हो, जसको उत्तर यो प्रकृतिले दिन्छ । तर यो भनाई अहिले कोरोनाको कारणले अर्थहीन बनेको छ । किन भने सारा संसार अहिले श्रमविहीन बनेको छ । श्रमविहीन संसारले प्रकृतिबाट उत्तरको अपेक्षा कसरी गर्न सक्छ ? श्रमको अभावमा उद्यम र विनिमय संकुचित बनेको छ । बचत र सापटले संसार चलेको छ । जोसँग बचत र उधारोको आस छैन, त्यस्तो व्यक्ति अर्थात् श्रम गरे छाक टर्ने अवस्थाका प्राणी अहिले भिखारी भएका छन् । भिखारी पनि त्यस्तो, जसको लागि दानवीरहरूको पनि ढोका थुनिएको छ ।

    अजय कुमार झा

गएको सय वर्षमा संसारले अनेक प्रकारका संकटहरूको सामना गर्यो । युद्ध, भूकम्प, ज्वालामुखी, भूस्खलन, हिमस्खलन, सुनामी, बाढी, खडेरी, चक्रवात, आँधी, आगलागी तथा अनेकानेक महामारी । तर सार्स कोरोना नामधारी विषाणु र त्यो विषाणुले उत्पन्न गरेको महामारीबाट सारा संसार त्रस्त छ । यस्तो त्रास यसअघि संसारले एकैसाथ कहिल्यै गरेको थिएन । कोरोना महामारीले पुरै संसारमा कोहोराम मच्चाइराखेको छ ।
नयाँ वर्ष २०२० को प्रारम्भसँगै चीनको वुहान सहरमा अज्ञात कारणले निमोनिया प्रकोप फैलिएको कुरा सामाजिक सञ्जालमा भाइरल भयो । त्यस कुराको छानबिन गर्दै जाँदा चिनिया वैज्ञानिकहरूले निमोनिया प्रकोपका पछाडि नयाँ कोरोना भाइरसको संक्रमण रहेको घोषणा गरे । विश्वले चीनको वुहानमा निम्तिएको कोरोना संक्रमित निमोनियाको बारेमा थप जानकारीको प्रतिक्षा गरिरह्यो तर कोरोनाको संक्रमण भुसको आगो झैं सारा संसारमा फैलियो ।
पाठकका लागि मैले यो लेख संप्रेषण गरी रहँदा संसारभरिमा परीक्षण गरिएका संक्रमित मानिसको संख्या ३७ लाख ४३ हजारलाई पार गरिसकेको छ भने कोरोना संक्रमणको वृद्धिको दर सात दिनयता दैनिक औसत ८४ हजारभन्दा बढी रहेको छ । जबकि आंशिक राष्ट्रमा बाहेक अधिकांश राष्ट्रमा अपेक्षित मात्रामा कोरोना परीक्षण नै हुन नसकिरहेको अवस्था छ । पर्याप्त परीक्षण हुने हो भने अकल्पनीय संख्या पनि देखिन सक्छ । हालसम्म कोरोना संक्रमण भएर विरामी परी मृत्युलाई प्राप्त गरेका मानिसको संख्या २ लाख ५८ हजारलाई पार गरिसकेको छ ।
राजनीतिक र सामरिक रूपमा विश्वमै सर्वाधिक शक्तिशालि मानिएको संयुक्त राज्य अमेरिका नै कोरोना संक्रमणबाट सबैभन्दा बढी (३३.०९ प्रतिशत) प्रभावित रहेको देखिन्छ । संसारभरिका संक्रमितमध्येको एक तिहाइ संख्या अमेरिकामा नै रहेको छ । सबैभन्दा बढी मृतकको संख्या (२७ प्रतिशतभन्दा बढी) पनि यसै देशमा रहेको छ ।
अमेरिकापछि स्पेन, इटली, बेलायत, फ्रान्स, जर्मनी, रुस, टर्की, ब्राजिल, इरान र चीनमा मात्र गरी ४२.५ प्रतिशत सक्रमित रहेको छ भने बाँकीका एक चौथाई बाँकी संसारमा रहेको छ । क्यानडा, पेरु, बेल्जियम, भारत, नेदरल्याण्डजस्ता मुलुकमा जनही १ प्रतिशत भन्दा बढीको दरले संक्रमित देखिएको छ ।
हाम्रो देश नेपाल कोरोना संक्रमणको कुल २१४ मुलुकको ग्राफमा यतिबेला १६३ औं स्थानमा रहेको देखिन्छ । नेपालको अवस्था ५१ वटा राष्ट्रभन्दा माथि हुनु र यहाँ संक्रमितको संख्या क्रमशः बढ्दै गएको अवस्थाले सबै नेपालीलाई थप चिन्तित तुल्याएको छ । किनभने कोरोनासँग मुकबिला गर्ने प्रविधि र साधनको दृष्टिले नेपाल निरिह अवस्थामा रहेको छ । यहाँ कोरोना परीक्षणको दर पनि अत्यन्त न्यून अवस्थामा रहेको छ । मार्च १५ को दिन मात्र १ वटा संक्रमित देखिएको यो देशमा मई ६ आई पुग्दा संक्रमितको संख्या ९९ पुगिसकेको छ । अहिलेसम्म कोरोनाका कारण कसैले ज्यान गुमाउन परेको छैन, जबकि १६ जना उपचारपछि निको भएर घर फर्किएको समाचार संतोषजनक भए पनि घर फर्किएकामध्ये तीनजनामा पुनः संक्रमण देखिनु थप चिन्ताको विषय बनेको छ ।
हामीले कोरोना चिन्तनमा गम्भीर हुनै पर्ने अर्को कारण भारत पनि हो । भारतमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै जानु नेपालको लागि चिन्ताको विषय बनेको छ । नेपाल तीन दिशामा भारतले घेरिएको छ भने सामाजिक–आर्थिक कारणले दुई देशका नागरिकको व्यापक आवाजाही छ । यस कारणले भारत निश्चिन्त नभएसम्म नेपाल निश्चिन्त हुन नसक्ने र भारतको संक्रमण कुनै पनि बेला नेपालको लागि खतराको घन्टी बन्न सक्ने अवस्था छ । कोरोनाको प्रादुर्भाव गर्ने चीनबाट पनि नेपाललाई खतरा छ । चीनको वुहानसँग नेपालको सिधा यातायात सम्बन्ध नभएको कारणले प्रारम्भिक अवस्थामा नेपाल जोगिएकै हो । तर चीनको यथार्थ स्थिति ज्ञात हुन नसकेको तर नयाँ नयाँ संक्रमित भेटिइरहेको कुराले नेपाललाई सशंकित बनाएको छ ।
नेपालको लागि दक्षिण एसियाली राष्ट्रहरूको कोरोना स्थिति पनि अन्तरसम्बन्धका कारण चिन्ताको विषय बनेको छ । सार्क राष्ट्रहरूमा भारत, पाकिस्तान, बांग्लादेश, अफगानिस्तानमा कोरोना खतरा बढ्दै गएको छ । कोरोनाको विश्व तथ्यांकमा यतिबेला भारत १५ औं स्थानमा उक्लिएको छ भने पाकिस्तान २४ औं स्थानमा, बांग्लादेश ३७ औं स्थानमा, अफगानिस्तान ६० औं स्थानमा, श्रीलंका ९७ औं स्थानमा माल्दिभ्स ११२ औं स्थानमा, नेपाल ११४ औं स्थानमा र भुटान २०७ औं स्थानमा रहेको देखिन्छ । गत मार्चतिर भारत र पाकिस्तानमा आयोजित मुस्लिम तबलिगीहरूको जमाती (भेला) मा संसारभरिबाट प्रतिनिधिहरूको सहभागिता थियो । नेपाल र बांग्लादेशमा पनि यस्ता भेलाहरू भए त्यस क्रममा यस क्षेत्र कोरोना भाइरस विशेष रूपमा प्रसारित भयो । यसर्थ भारत, पाकिस्तान, बांग्लादेश, अफगानिस्तानसँगै कुनै न कुनै रूपमा नेपालको पनि भावी अवस्थाको आकलन गर्नु सहज छैन ।
कोरोना भाइरस रोग मुख्यतया संक्रमित व्यक्तिसँग सम्पर्कको माध्यमबाट फैलिन्छ । जब संक्रमित व्यक्ति खोकी वा छींक लाग्छ, यो रोग अन्य मानिसहरूमा फैलिन्छ, जो उनको मुख र नाकबाट खसेका थिए । यो तब पनि फैलिन्छ, जब कुनै संक्रमित व्यक्तिले सतह वा कुनै चीज छोएको हुन्छ, र त्यस स्थान वा वस्तुमा भाइरस सरेको हुन्छ । स्वस्थ व्यक्तिले त्यस्तो सतह वा वस्तुलाई अज्ञानतावश छोएपछि भाइरस उसको हातमा सर्छ र त्यसपछि उसले आफ्नो आँखा, नाक वा मुख छोएमा भाइरस भित्री शरीरमा प्रवेश गर्दछ । कोरोना भाइरस त्यस्तो सुक्ष्मतम अदृश्य अणु हो, जो मानिस वा जनावरको शरीर बाहिर अर्थात कुनै सतह वा वस्तुको परतमा रहँदासम्म निष्क्रिय रहन्छ तर कुनै जीवको शरीरभित्र प्रवेश पायो भने तीव्र रूपमा वृद्धि हुँदै शरीरका कोषहरूमाथि आघात पुर्याउन थाल्दछ । कोरोनाको कारण फैलिने रोगलाई कोविड १९ भनिएको छ । यो मुख्यतया श्वासप्रश्वासको रोग हो । थप रूपमा, खोकी, ज्वरो र अन्य गम्भीर स्थिति उत्पन्न गर्दछ ।
कोरोनाको संक्रमणलाई रोक्ने वा यसबाट उत्पन्न हुने रोगको उपचार हुने औषधि पत्तो नलागिसकेको अवस्था छ । तसर्थ कोरोनालाई असंक्रमण र अप्रसारको बिन्दुमा सीमित राख्न तत्काल व्यक्तिगत सावधानी र लकडाउनलाई नै निर्विकल्प उपाय ठानिएको छ । व्यक्तिगत सावधानी भनेको आफूलाई कोरोनाको संक्रमणबाट जोगाउनको लागि आफ्ना हातहरू बारम्बार धुनु हो, नधोएको हातलाई आफ्नो अनुहार, मुख, नाक र आँखासम्म जान नदिनु हो र अन्य मानिसहरूबाट कमसे कम एक मिटरको दूरी बनाई राख्नु हो । त्यस्तै लकडाउन भनेको सामान्यतया कुनै इलाकामा बाह्य पक्षलाई प्रवेशमा रोक लगाउनु हो । लकअप भनेको कुनै इलाकाबाट कसैलाई बाहिर जान नदिनु भन्ने बुझिए झैं लकडाउनमा कुनै इलाकामा बाहिरका मानिसलाई प्रवेश गर्न नदिनु भन्ने हो । कोरोनाको बृहत् सन्दर्भमा उक्त भाइरसलाई आफ्नो शरीरभित्र प्रवेशमा रोक लगाउनु भनेर लकडाउनलाई लाक्षणिक रूपमा अर्थाउन सकिन्छ । नेपालले चैत्र दोस्रो सातादेखि लकडाउन गरी आएको छ । अहिले भर्खरै सरकारले लकडाउनको अवधि तेस्रो पटक विस्तार गर्दै जेठ ५ गतेसम्म पुर्याएको छ ।
कोरोनाविरुद्ध लकडाउन भनेको तत्कालको लागि अथवा आत्म तयारीका लागि अर्थात् सीमित समयको उपाय मात्र हुन सक्छ । लकडाउनलाई धेरै लम्ब्याउन सकदैन । कुनै राष्ट्र विशेषमा वा कुनै स्थान विशेषमा कथित रूपमा लकडाउन नहुनसक्छ । तर अहिले संसारभरि नै हवाई यातायात अवरुद्ध भएकाले यस अर्थमा सारा संसार नै अहिले लकडाउनको स्थितिमा छ । एक देशको व्यक्तिलाई दोस्रो देशमा प्रवेशानुमति छैन । खुला सिमाना भएका नेपाल–भारत जस्तामा पनि अहिले आवागमन निषेधित छ । त्यस्तै गम्भीर स्थिति भएका अवस्थामा एक प्रान्तबाट अर्को प्रान्त, एक जिल्लाबाट अर्को जिल्ला वा एक पालिकाबाट अर्को पालिकाको प्रवेशमा पनि रोक लगाइएको अवस्था छ ।
लामो लकडाउनले अर्थतन्त्रलाई नराम्ररी प्रभावित गरेको छ, जो कि कोरोना महामारीभन्दा बढी र खतरनाक हुनसक्छ । कुनै पनि मुलुकको सामाजिक–आर्थिक संरचना, भौगोलिक परिस्थिति, स्वास्थ्य एवं अन्य सामाजिक कारकहरूमा असमानतालाई ध्यानमा लिने हो भने लकडाउन समाजका श्रमिकहरूको लागि कठोर उपाय हो । कोरोना संक्रमणको प्रभाव समग्र अर्थतन्त्रमा परेको भए पनि रोजगारी गरेर खाने श्रमिक वर्ग सबैभन्दा बढी प्रभावित छन् । निर्माण, उद्योग, व्यापार, यातायात, सेवा क्षेत्रहरूले श्रमिक कटौती गर्नुका साथै राखेका श्रमिकलाई पनि बेतलबी बिदामा घर पठाएका छन् । सरकार वा रोजगारदाताले दायित्व नलिने निर्णय गर्दा कामदार र कर्मचारी बढी मारमा परेको अवस्था उत्पन्न भएको छ । अधिकांशको दुई छाक टार्ने समस्या छ । वास्तवमा अहिले मानव मात्र होइन, मानवता नै संकटग्रस्त भएको छ । प्रवासी श्रमिकको अवस्था झन गम्भीर छ । श्रमिकको पक्षमा सोच्ने, बोल्ने र गर्ने कोही छैन ।
यसै बीच श्रमिक दिवस पनि पर्यो तर श्रमिक दिवस आएको र गएको पत्तै भएन । श्रमिक दिवसका अवसरमा सार्वजनिक विदा भए पनि सार्वजनिक संयन्त्रहरूको बन्दाबन्दीका कारण विदाको अनुभूति हुन सकेन । लामो लकडाउनका कारण दिवसपरक क्रियाकलापहरू पनि आयोजना हुन सकेनन् ।


प्रत्येक वर्ष मे महिनाको १ तारिखको दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो । विश्वका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
राज्यको मुख्य जिम्मेवारी भनेको श्रमिकहरूको शारीरिक र सामाजिक हितको रक्षा गर्नु हो । यसको आधारमा राज्यले एक योग्य जनशक्ति पाउँछ, जसले राष्ट्रिय उत्पादन र निर्माण विकासमा प्रभावकारी रूपमा योगदान पुर्याउँछ । राज्यले बिभिन्न कार्यहरू लागू गरी श्रमिकहरूको सेवा शर्तहरू नियमित गर्दछ, ताकि मजदुरहरूको ज्याला र कामका सर्तहरू उचित र श्रम विवादहरूको समाधान गर्न गर्न सक्दछ । यसका साथसाथै औद्योगिक स्वास्थ्य र सुरक्षाको पनि ध्यान राखिएको छ ताकि कामदारहरू दुर्घटनाको शिकार हुन नपरोस् र तिनीहरूलाई उचित कामको लागि उपलब्ध गराउन सकिन्छ । कोरोना एक प्रकारको विशेष दुर्घटना हो, जसले श्रमिक वर्गलाई अन्य वर्गभन्दा बढी प्रभाावित गरेको छ । यसर्थ सरकार र निजी क्षेत्रले प्रभावित श्रमिक वर्गप्रति विशेष नीति अवलम्बन गर्नु आवश्यक छ । यि नै नीति यस वर्षको श्रमिक दिवसको सार्थकता हुनेछ ।
–लेखक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुनुहुन्छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer