• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

नेपालमा कोरोना संक्रमणको खतराः भारतबाट धमाधम छिर्दै जमाती

ठूलो चुनौती बन्दै खुल्ला सिमाना, सेल्टर बन्दै गाउँहरु
नेपालमा कोरोना संक्रमणको खतराः भारतबाट धमाधम छिर्दै जमाती

विशेष रिपोर्ट
राजविराज, २३ चैत्र । खुल्ला सिमानाका कारण सप्तरीसहित तराई मधशेका सिमाना जोडिएका जिल्लाहरुमा भारतबाट जमातीहरु लुकिछिपी घर फर्किने क्रम बढेसँगै कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दैगएको छ । भारतमा लकडाउन गरिएपछि त्यहाँका उद्योगधन्दा एवम् कामकाजहरु बन्द भएपछि उनीहरु विभिन्न वैकल्पिक माध्यमबाट घर फर्किने बढेको छ । त्यहाँ पूर्ण रुपमा लकडाउन गरिएका कारण मजदूरहरु पैदलै, साइकल वा अन्य साधनहरुबाट कष्ट झेल्दै उनीहरु मुख्य नाकाबाट नभई लुकिछिपी आउने गरेको पाईएको छ ।
मुख्य तथा सहायक सिमा नाकाहरुमा प्रहरी रहेका कारण अधिकांश व्यक्ति रात्रीको समयमा खेत वा नदी भएर तराई मधेशका जिल्लाहरुमा भित्रिने गरेको तथा त्यसमध्ये केही सिधै स्वास्थ्य संस्था वा क्वारेन्टाइन पुग्ने गरेका छन् भने कतिपय घरमै लुकेर बस्ने गरेको श्रोतले जनाएको छ । भारतमा सुरक्षा संयन्त्र कडा पारिएपछि त्यहाँ रहेका मजदूरहरु लुकिछिपी घर फर्किने गरेका छन् नै । भारतको निजामुद्दिन स्थित जमातमा सहभागी भएकाहरुलाई त्यहाँको सुरक्षा संयन्त्रले तीब्र रुपमा खोजी कार्य अगाडि बढाएपछि सप्तरीसहित नेपालको विभिन्न जिल्लाहरुबाट जमातमा सहभागी भएकाहरु लुकिछिपी चोरबाटो प्रयोग गरी फर्किने गरेका छन् ।
उता भारतीय प्रहरीले जमातमा सहभागी मुस्लिमहरुको खोजी गरी क्वारेन्टाइनमा राख्ने गरेका छन् । क्वारेन्टाइनमा बस्नुपर्ने वा भारत सरकारबाट कार्वाही हुने डरले भारतीय मुस्लिमहरु समेत खुल्ला सिमाना भएर नेपालको भारतीय सिमावर्ती जिल्लाहरुमा छिर्ने गरेका छन् । त्यहाँका मुस्लिमका नाता सम्वन्ध रहेका कारण यतिबेला उनीहरु मुस्लिम वस्तीहरुलाई सुरक्षित गन्तव्यको रुपमा प्रयोग गर्न थालेका छन् । नेपालका जमातीहरुसँगै भारतीय जमातीहरु समेत मुस्लिम घना वस्ती भएका गाउँहरुमा बस्ने गरेका छन् । पाहुनाका रुपमा आएकोले त्यस्ता मरकजीहरुलाई बाध्यतावश आश्रय दिनुपरेको श्रोतले जनाएको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार मुस्लिम वस्तीमा आएका उनीहरु खाना खाएर छुट्टा–छुट्टै खेत वा नदीतिर घुम्न निस्कन्छन् । साँझ परेपछि उनी बस्तीमा भेला हुने गर्छन् । मुस्लिम बस्ती भएका आसपासका खेत तथा नदीतिर त्यस्ता अपरिचितहरु बग्रेल्ती देखिने गरेका छन् । बस्तीमा खोजी गर्न प्रहरी आउँछ कि भन्ने डरले दिनभरी आगन्तुकहरुलाई तितर–वितर पारेर राख्ने गर्छन् । भारतको विभिन्न स्थानहरुबाट आएका व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको अवस्थामा क्वारेन्टाइनमा राखिदिँदा कतिपयले प्रतिष्ठासँग समेत दाँजेर हेर्ने गरेको छ । अर्कोतर्फ बाहिरबाट केही जमातीलाई क्वारेन्टाइन पठाउनुभन्दा नचाहेर पनि संरक्षण दिएर राख्नुपरेको एक मुस्लिम अगुवा स्वीकार्छन् । यद्यपी भारतबाट आएकाहरुलाई आफुहरुले छुट्टै तथा सावधानीका साथ निगरानीमा राखेको दावी गर्छन् । सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेका अनुसार खुल्ला सिमानाका कारण भारतबाट केही व्यक्तिहरु लुकीछिपी प्रवेश गर्ने गरेका छन् । यद्यपी मुख्य तथा सहायक नाकाहरुमा समेत सुरक्षाकर्मीहरु २४औ घण्टा तैनाथ रहेको जानकारी दिँदै उनले भने ‘रातीको बेला नदी, गहुँ खेत ईत्यादि भएर केही व्यक्ति छिर्ने गरेको पाईएको छ, त्यसैले हामी थप कडाई गरेका छौं ।’ भारततर्फका कमाण्डेन्टसँग आफुले समन्वय गरेर कसैलाई पनि छिर्न नदिई उतैतिर राख्ने राख्ने कुरो भएको उनले बताए । जिल्लामा ७८ किलोमिटर भारतसँग जोडिएको खुल्ला सिमाना रहेको जानकारी दिँदै सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेले भने ‘भारततिरबाट आउने व्यक्तिहरुबाट कोरोनो संक्रमण हुने उच्च जोखिम छ, त्यसैले लुकीछिपी भारततिरबाट आउने जो कोहीलाई पनि टोल बस्तीमा छिर्न नदिई दिई सिधै क्वारेन्टाइन पठाउन वा सुरक्षा संयन्त्रलाई खबर गर्न आग्रह गर्दछु ।’
हुन त सप्तरी प्रशासनले भने जिल्लामा कोरोना भाइरसको संक्रमण हुन नदिन सजगता अपनाएको छ । तर बाहिरबाट आएकाहरुको खोजी कार्य जुन रफ्तारमा अगाडि बढेको थियो, त्यसमा भने शिथिलता आएको छ । गत बुधबार भारतको विभिन्न स्थानमा आयोजना गरिएको जमातमा सहभागी भई घर फर्किएकाहरुलाई सरोकारवालाहरु समेतको सहभागितामा राजविराज सहित विभिन्न स्थानबाट आठ जनालाई सर्च अपरेशन तहत खोजी गरी क्वारेन्टाइन पठाउन सफल भएको थियो । उनीहरुसहित ९ जनाको स्वाब टेष्ट हुँदा निगेटिभ आएको छ । यद्यपी उनीहरु अझैं शंकाको घेरामा रहेकोले निगरानीमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको भनाइ छ । यसैगरी भारतबाट आएकी कञ्चनरुप नगरपालिका निवासी एक महिलामा कोरोनाको लक्षण देखिएकोले स्वाब परीक्षणकालागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।
भारतमा धमाधम पक्राउ पर्दै नेपाली जमाती
भारतको दिल्ली स्थित निजामुद्दिनको मरकजमा सहभागी भएका नेपाली मुस्लिमहरु लुकीछिपी घर फर्कने गरेको यथार्थलाई पछिल्लो घटनाक्रमले पुष्टि गरेको छ । भारतको कुशीनगर जनपद प्रहरीले सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार नेपालतर्फ छिर्नकालागि खेतमा लुकेर बसेका १४ जनालाई शुक्रवार पक्राउ गरिएको छ । कुशीनगर हुँदै उनीहरु नेपाल छिर्ने दाउमा रहेको अवस्थामा उखु खेतबाट रामकोला र कप्तानगञ्ज क्षेत्रबाट पक्राउ गरिएको सञ्चारमाध्यमहरु उल्लेख छ । उनीहरुलाई १४ दिनकालागि स्थानीय क्वारेन्टाइन सेन्टरमा राखिएको छ ।
पक्राउ परेकाहरुसँग सोधपुछ गर्दा उनीहरु ४१ जनाको संख्यामा भारत आएकोमा लकडाउन पश्चात सानो सानो समूहमा छुट्टिएको बताएका छन् ।
यसैगरी बाराको सिमा नाका भएर नेपाल प्रवेश गरिरहेको अवस्थामा बारा जिल्लामा समे नौ जना मौल्वी पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका अनुसार फेटा गाउँपालिकाको जोधपुर गम्हरीयाबाट लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्ने उनीहरुलाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरु दिल्लीको निजामुद्दिनको जमातमा सहभागी भई फर्किएको स्वीकार गरेका छन् ।
पक्राउ पर्नेहरु सप्तरीको महादेवा गाउँपालिका वडा नम्वर ४ दुई जना, कञ्चरुप नगरपालिका वडा नम्वर ९ का सात जना रहेका छन् । पक्राउ परेकाहरुलाई कलैया अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।
बोदेवर्साइनको इज्तिमा नै बन्यो उत्प्रेरक
सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजित इस्लामिक सम्मेलन ‘इज्तिमा’ नै नेपाली मुस्लिम समुदाय तथा भारतको सिमावर्ती क्षेत्रका मुस्लिमहरुकोलागि उक्त इज्तिमा हालसम्मकै भव्य सिद्ध भएको छ । गत फागुन ३ गतेदेखि सुरु भई फागुन ५ गतेसम्म अर्थात तीन दिनसम्म चलेको इज्तिमामा नेपाल तथा भारतका करिब तीन लाख भन्दा बढी मुस्लिम समुदायका अगुवाहरु सहभागी भएका थिए । उक्त इज्तिमा’मा प्रमुख वक्ताको रुपमा भारतको दिल्लीका प्रख्यात धर्मगुरु मौलाना साद साहाब आएका थिए । निजामुद्दिनको मरकजमा आयोजित जमातको मुख्य व्यक्ति साद साहाब नै थिए । यसका साथै अन्य धर्मगुरुहरुबाट समेत प्रवचन गरिएको थियो । सम्मेलनको अन्तिम दिन अर्थात फागुन ५ गते प्रार्थाना सकिए पछि सप्तरीबाट ठूलो संख्यामा मुस्लिम अगुवाहरुको समूह भारतको दिल्ली प्रस्थान गरेको जनाईएको छ । यसका साथै नेपालको खासगरी तराई मधेशका जिल्लाहरुबाट समेत समूह बनाएर जमातकालागि प्रस्थान गरेका थिए ।
यस्तो थियो इज्तिमा आयोजनको अवस्था
सप्तरीको बोदे बरसाईन नगरपालिकामा अत्यन्तै विवादपूर्ण आयोजना गरिएको थियो इज्तिमा २०२० । पर्यटन वर्ष २०२० को मौकामा तय भएको इज्तिमा हुने वा नहुने विषयमा दुई दिन अघिसम्म अन्यौलपूर्ण अवस्था थियो । उता चीनमा त्यतिबेला कोरोना भाइरसको संक्रमणले त्राहिमामको अवस्था थियो । अन्य देशहरुमा समेत कोरोना भाइरस विस्तार हुने क्रममा थियो । एकातर्फ चौतर्फी रुपमा भींडभाड वा सार्वजनिक कार्यक्रमहरु छोट्टिदै गईरहेको थियो भने अर्कोतर्फ सिमावर्ती क्षेत्रमा लाखौं देशी–विदेशी भित्र्याउने मेलो । कोरोना भाइरसबाट जोगिन आवश्यक तयारी गरिरहेकै अवस्थामा सप्तरीको इज्तिमा निल्नु नओकल्नु झैं भएको थियो ।
गृह मन्त्रालयले तीन दिन अगाडि कोरोना भाइरसको संक्रमणको जोखिम हुन सक्ने भन्दै गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने भनी निर्देशन जारी ग¥यो । सोही अनुसार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, नेपाल प्रहरी प्रमुख कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपाने समेतको टोली तत्कालै कार्यक्रम स्थगन गर्नकालागि आयोजकसँग भेट्न जाँजर पुगे । त्यहाँ देशी–विदेशी करिब २० हजार मुस्लिम अगुवाहरु भेला भईसकेका थिए । भारत बाहेक विदेशी राष्ट्रका अगुवाहरु समेत नेपाल प्रवेश गर्ने क्रम जारी थियो भने कतिपय नेपाल छिरिसकेका थिए । सप्तरी प्रशासनले इज्तिमा रोक्न प्रयासरत रहेकै अवस्थामा राजनीतिक दवाबका साथै मुस्लिम आयोग तथा सङ्गठनहरु समेतको दवाब पश्चात त्यसको भोलीपल्ट इज्तिमा हुने निश्चित भयो । तर शर्त थियो भारत बाहेक अन्य राष्ट्रबाट मुस्लिम अगुवाहरुलाई स–सम्मान फिर्ता पठाउनुपर्ने । सोही अनुसार स्थानीय प्रशासनसँग सम्झौता पनि भयो । केहीलाई प्रहरीले फिर्ता समेत पठाए । तर उक्त सम्मेलनमा भारत बाहेक अन्य मुलुकका धर्मगुरुहरु समेत लुकीछिपी सहभागी भए ।
उक्त सम्मेलनमा आयोजकले आफ्नै सुरक्षा संयन्त्र परिचालन गरेका थिए । नेपाल सरकारको सुरक्षाकर्मीहरुलाई समेत कार्यक्रम स्थलमा प्रवेश निषेध थियो । पत्रकारहरुलाई समेत कार्यक्रम स्थल रहेको पण्डालको दृष्य खिंच्न रोक लगाईएको थियो । कार्यक्रम स्थलमै आयोजकद्वारा स्थापना गरिएको अस्थायी सम्पर्क कार्यालयमा सम्पर्क गरी नमाज पढ्दै गरेको अवस्थामा वा बाहिरको दृष्य मात्र खिंच्न दिईएको थियो । त्यसैकारण दिल्लीका प्रमुख धर्मगुरु मौलाना साद साहाबको तस्विर वा भिडियो कुनै पनि सञ्चारमाध्यममा आउन सकेन ।
सरकारलाई छल्दै इन्डोनेसियाली पनि सहभागी
सप्तरीको बोदेवर्साइन नगरपालिका–५ जाँजरमा आयोजना गरिएको इज्तिमामा नेपाल सरकारको निर्देशन विपरित इन्डोनेसियाबाट समेत मुस्लिम समुदायको सहभागिता रहेको पुष्टि भएको छ । इज्तिमामा १३ जना इन्डोनेसियाका नागरिक समेत सहभागी भएको रहस्य गत चैत १९ गते उजागर भयो । महालक्ष्मी–४ इमाडोलको अजिजिया मदर्सा मस्जिदमा बस्दैआएको अवस्थामा महालक्ष्मी र गोदावरीका स्थानीय वासिन्दाले विरोध जनाएपछि उनीहरुलाई फिर्ता पठाइएको थियो । गत बिहीबार उनीलाई मस्जिदबाट पठाएपछि गोदावरी–३ टौखेलको गोदावरी भिलेज रिसोर्टमा प्रहरीले राखिदिएका थिए । त्यहाँको स्थानीयवासिन्दाले समेत राति साढे १० बजेको समयमा त्यहाँबाट फिर्ता पठाई दिए ।
उनीहरु सन् २०२० जनवरी २१ मा इण्डोनेशियाबाट तबलिगी जमात अर्थात् मुस्लिम धर्म प्रचार समूहमार्फत काठमाडौँको जामे मस्जिदमा आएर बसेको खुलेको छ । फ्रेबु्रअरी–१३ तारिखमा इज्तिमामा सहभागी सप्तरीको रुपनी बजारमा समेत तीन दिनसम्म बसेको प्रहरी अनुसन्धानबाट बुझिएको छ । चैत १९ गते काठमाडौंको बालाजु माछापोखरी मस्जिदमा बस्न खोज्दा त्यहाँका स्थानीयवासीले विरोध गरेपछि स्थानीय प्रहरीले मस्जिदका पदाधिकारीसँग सल्लाह गरी इमाडोल ल्याइएको थियो ।
कोरोना भाइरसको त्रासका कारण चौतर्फी रुपमा विरोध भएपछि चैत २० गते एक रिसोर्टमा राखेर प्रहरीले थप अनुसन्धान थालेको छ ।
मुस्लिम आयोग समेतको संरक्षण
बोदेवसाईन नगरपालिका–५ स्थित जाँजरमा इज्तिमा आयोजना गर्नकालागि नगरपालिका कार्यालयबाट अनुमतिपत्र सिफारिस लिएर प्रक्रिया अगाडि बढाईएको थियो । कार्यक्रम आयोजना गर्न ६ महिना अगाडिदेखि जाँजर स्थित खडक नदी किनारमा तयारी थालिएको थियो । स्थानीय गफुर मियाँको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो । कार्यक्रमलाई पूर्ण रुपमा व्यवस्थित गर्न नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी लगायतका व्यक्तिहरु कार्यक्रम स्थलमै एकसातासम्म बसेका थिए । आयोगका अध्यक्ष अन्सारीले कार्यक्रम आयोजना हुन दिनकालागि नेपाल सरकारसँग समन्वयकारी भूमिका निर्वाह गरेका थिए । कार्यक्रम निरीक्षण गर्नकालागि प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउत समेत आएका थिए ।