राजविराज, २० चैत्र । भारतको विभिन्न स्थानमा आयोजित जमात तथा मजदूरीमा रहेकाहरु लुकिछिपी घर फर्किने क्रमसँगै कोरोनो भाइरसको जाखिम समेत बढ्दै गएको छ ।
फर्केकाहरु कतिपय सिधै स्वास्थ्य संस्थाहरुमा जाने गरेका छन् भने कतिपय जानी लापर्वाही गरी उनीहरुलाई गोप्य रुपमा घरमै राख्ने गरेकोले कोरोनाको जोखिम बढ्दै गएको हो । जानीजानी लापर्वाही गरेर परिवार, समाज र सिङ्गो देशलाई नै जोखिममा पार्नुभन्दा क्वारेन्टाइनमै रहेर पूर्ण रुपमा निको भएपछि मात्र ढुक्क भएर आफ्नो घर जाने सोचका कतिपय व्यक्तिहरु स्वस्फूर्त रुपमा क्वारेन्टाइनमा बस्ने गरेका छन् ।
यसको पछिल्लो उदाहरण बनेका राजविराज नगरपालिका वडा नम्वर ११ फर्सैठका रामबिलास साह । उनी विगत केही महिनादेखि भारतको यमुना नगरमा मजदूरी गर्दैआएका थिए । एक्कासी भारत सरकारले लकडाउन गरेपछि उनी कार्यरत रहेको कम्पनी समेत बन्द भयो । कम्पनी नै बन्द भएपछि उनीसहित त्यहाँ कार्यरत नेपाली मजदूरहरुको बिचल्ली भयो । उनीहरुलाई खानपिनमा समेत समस्या भएपछि करिब सय जना नेपाली तथा भारत विहार क्षेत्रका मजदूरहरुले नयाँ साइकल किनेर यात्रा थाले । 
भारतको हरियाना स्थित यमुनानगरदेखि सप्तरीको राजविराज नगरपालिकाको एक हजार ४ सय ३८ किलोमिटर दुरी १५ दिन लगाएर तय गरेका छन् । उनी साइकलबाटै सीमावर्ती क्षेत्रमा त आए तर सीमा कट्ने कसरी ? भने चिन्ता थपियो । सीमामा प्रहरीको कडा निगरानी देखेर लुकेर गहुँ खेत हुँदै विहीबार विहान सीमा कट्न सफल भए । निरन्तर साइकल चलाएर गलेका रामबिलास जब घर पुगे अनि उनकी पत्नी कोशिलाले भनिन् ‘अँगना नै आउ, केकरो देहमे नै भिरु, पहिने चलु जचबैल ।’ अर्थात आँगन नआउनु, कसैको जीउमा नछुनु, पहिला जँचाउन जाउँ भनिन् । कहिले पनि विद्यालय नगएकी कोशिलाले आफ्ना पतिलाई लिएर विहीबार राजविराज नगरपालिका अन्तर्गत साइकृष्णा हस्पिटलमा रहेको क्वारेन्टाइन पुगिन् । यहाँ जाँच हुँदैन भनेपछि ती महिलाले ‘हमर घरवाला १४ दिन अहिठाम रहतै, जाधरि ठिक नई हेतै ता नई जेतै’ भनी ढिपी कसेपछि रामविलासलाई त्यहि क्वारेन्टाइनमा राखियो ।
कोरोना भाइरसले मान्छे मार्छ भनी सुनेको बताउँदै रामबिलासले भने ‘त्यही मास्क किनेर लगाएँ, ठाउँठाउँमा भारत सरकारले खानाको व्यवस्था गरेको थियो, हामीहरु खाना खाँदै आराम गर्दै साइकल यात्रालाई निरन्तरता दियौं, खानपिनको समस्या भएन, ठाउँठाउँमा जाँच पनि गरिन्थ्यो ।’ दरभङ्गा कटेपछि खानपिनको समस्या भएको स्मरण सुनाउँदै उनले थपे ‘त्यहाँ त मरता क्या नही करताको अवस्था थियो, त्यहाँ मर्नु भन्दा त आफ्नै जन्मभूमी र घरपरिवार सम्झेर साइकलबाट यात्रा थालें ।’
आफुसँगै रहेका अन्य साइकलयात्री मजदूर बाटोबाटै छुट्टिएको र आफु पनि छुट्टिएर गाउँ पुगेको उनले जानकारी दिए । नेपाली मजदूरहरु अझैं भारतमा धेरै संख्यामा रहेकोले वैकल्पिक उपाय खोज्दै धमाधम घर फर्किने क्रममा रहेको रामबिलासले बताए । आफुलाई ठाउँठाउँमा जाँच गरेकोले स्वस्थ्य रहेको जस्तो लागे पनि घरपरिवारलाई असुरक्षित बनाउनुभन्दा क्वारेन्टाइनमा दुई साता बस्नु नै ठिक हुने बुझेर क्वारेन्टाइनमा भर्ती भएको ‘न्यूज टुडे’लाई बताए ।
रामबिलास लुकेरै घर फर्किए पनि उनको पत्नीको सजगताले आफै क्वारेन्टाइन आउनु सकारात्मक रहेको भन्दै राजविराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापाले प्रशंसा गरे । ‘भारतमा रहेकाहरु अहिले उतै बस्नु ठिक हुनेछ, कथमकदाचित यदी कोही आइपुगेको छ भने घरमा समेत पस्न नदिई सिधै क्वारेन्टाइन ल्याउनु आवश्यक छ’ उनले भने ‘बाहिरबाट आएका कोही व्यक्ति नजँचाईकन घरमा बसिरहेको छ भने यसले सिङ्गो परिवारवालाई मात्र नभई सिङ्गो समाज र देशलाई नै कोरोनाको जोखिममा धकेलिरहेको छ, यसबाट सबै सचेत रहनुपर्दछ ।’ कोशिला जस्तै सबैलाई सजग भई आफ्नो घरपरिवार, समाज, जिल्ला र देशलाई कोरोनामुक्त बनाउन सहयोग गर्नुपने उनले बताए ।
अन्तर्राष्ट्रिय
हरियानाबाट साइकलमै १५औं दिन पुगे राजविराज क्वारेन्टाइन
मजदूर रामविलास भन्छन् ‘घरपरिवारलाई असुरक्षित बनाउनुभन्दा क्वारेन्टाइनमै बस्नु ठिक’