• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

वैदेशिक रोजगारीः ठगीमा संलग्न बुवाछोरालाई पक्राउ गर्न पुर्जी जारी

३७ लाख ४२ हजार रुपैयाँ र १९ थान राहदानी ठगी गरेको आरोप
वैदेशिक रोजगारीः ठगीमा संलग्न बुवाछोरालाई पक्राउ गर्न पुर्जी जारी

विद्यानन्द राम
राजविराज, २० फागुन । सरकारले वैदेशिक रोजगारीका नाममा हुने गरेको विभिन्न किसिमका ठगी धन्दा नियन्त्रण गर्न प्रयासरत रहँदा समेत अझै नेपाली कामदार ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीका नाममा अहिले पनि दिनहुँ जसो विभिन्न किसिमका ठगीका घटनाहरु भइरहेका छन् ।
कमजोर सरकारी प्रयास तथा कामदारहरुमा जानकारी अभावका कारण अझै वैदेशिक रोजगारीका नाममा ठगी धन्दा गर्ने व्यक्तिहरु सक्रिय रहेको पाइएको हो । पछिल्लो पटक वैदेशिक रोजगारको नाममा दर्जनौ युवाहरुसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपसहित सप्तरीका एक बुवा–छोराविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको छ ।
सोही उजुरीको आधारमा डाक्नेश्वरी नगरपालिका वडा नम्वर २ औरहीका मो.बसीर मियाँ र उनका छोरा मो.सहजाद आलमलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी भएको छ । बुवा–छोराको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिएका छन ।
बुवा–छोराले वैदेशिक रोजगारीमा पठाईदिने प्रलोभन दिएर लाखौं रुपैयाँ ठगी गरेको भन्दै सिरहाको तत्कालिन भगवानपुर गाविस ४ का १८ वर्षीय चन्दनकुमार साह, इनर्वा गाविस–७ का २७ वर्षीय उपेन्द्रकुमार साह, सोही ठाउँका २४ वर्षीय श्रीराम मण्डल, सप्तरीको तत्कालिन रामपुर जमूवा गाविस–९ का २४ वर्षीय विरेन्द्र मण्डल, बोदे बरसाईन गाविस–९ कै २२ वर्षीय सत्यनारायण साह र फुलकाही गाविस–२ का २४ वर्षीय प्रमेशकुमार रायले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन ।
उजुरीअनुसार ८ जनैसँग ६ लाख ४० हजार रुपैयाँ लिएकोमा वैदेशिक रोजगारीमा पठाउन नसकेपछि २ लाख ६० हजार रुपैयाँ फिर्ता गरेपनि बाँकी ३ लाख ८० हजार रुपैयाँ अझैसम्म फिर्ता गरेको छैन ।
बुवाछोराविरुद्ध आप्रवासी श्रोत केन्द्रमा पनि २६ वटा निवेदन
आप्रवासी श्रोत केन्द्र राजविराज सप्तरीमा पनि मो.बसीर मियाँ र उनका छोरा मो.सहजाद आलमविरुद्ध २६ वटा निवेदन दर्ता भएको छ । निवेदनअनुसार बुवा–छोरीमाथि ३३ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
केन्द्रकी परामर्शकर्ता निता चौधरीले बुवा–छोराविरुद्ध २६ वटा निवेदन दर्ता भएको न्युज टुडेलाई बताइन् । ‘केन्द्रमा बुवाछोराविरुद्ध परेको निवेदनउपर आवश्यक कुरा वुझ्न उहाँहरुलाई टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुँदैन’ उनले भनिन्–‘तथापी आफुहरु निवेदनको आधारमा आवश्यक प्रक्रिया अघि बढाएका छौं ।’
केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ का मो.मुस्तुफ मियाँ, सोही ठाउँका मो.इसराइल, मो.फारुख मियाँ, मो.समिम, समराज मियाँ, मो.फारुख मियाँ, मो.अजिम मियाँ, मो.अस्दुल्ला, मो.जियाउल, निरजकुमार यादव र प्रकाश मुखियाँ तथा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ का मो.अमिन मियाँ ठगीमा परेका छन् ।
बुवाछोराले उनीहरुसँग राहधानीका साथै प्रतिव्यक्ति १ लाख ३५ हजारको दरले जम्मा १६ लाख २० हजार रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ । यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ कै मो.हनिफ र महादेवा गाउँपालिका वडा नम्वर ८ का अनसारुल मियाँसँग २ लाख ५० हजार रुपैयाँ, महादेवा गाउँपालिका वडा नम्वर १ का मो.रजाकसँग ४० हजार रुपैयाँ र राहधानी, हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १४ कै संतोशकुमार यादवसँग १ लाख रुपैयाँ, सोही ठाउँका महेन्द्र मलाहसँग १ लाख २० हजार रुपैयाँ बुवाछोराले ठगी गरेका हुन् ।
बुवाछोराले डाक्नेवरी नगरपालिका वडा नम्वर ८ का अक्वर मियाँ मन्सुरीसँग १ लाख ३२ हजार रुपैयाँ र राहदानी ठगी गरेका छन भने सोही नगरपालिका वडा नम्वर ७ का दिलीपकुमार ठाकुर, वडा नम्वर ८ का मो.दुखी र तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर १ का मो.जाहिरसँग १ लाख ५० हजारको दरले जम्मा ४ लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन् ।
यसैगरी, सिरहाको लहान नगरपालिका वडा नम्वर १२ का मो.मुस्तुफा र मो.अल्लाउदिन तथा वडा नम्वर १८ का मो.कलाम मियाँ, अमिन मियाँ र मो.इरफानसँग प्रतिव्यक्ति १ लाख ३० हजारको दरले जम्मा ६ लाख ५० हजार रुपैयाँ तथा राहदानी ठगी गरेको केन्द्रमा परेको परामर्शकर्ता चौधरीले बताइन् ।