• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

प्रतिष्ठान निर्माणको नाममा ललिपप देखाउने काम जस्तो भयो : वक्ताहरु (पूरा भिडियो हेर्नुहोस्)

‘सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वबाट बोल्दैछु, सत्तासिन पार्टीहरु वुझ्नुस् जिल्लामा पूर्वबाट होइन, पश्चिमबाट पनि छिर्न पाउन हुन् र तपाईहरुको घरमा गएर हामी व्यवसायीहरु अनसन बस्छौं’
प्रतिष्ठान निर्माणको नाममा ललिपप देखाउने काम जस्तो भयो : वक्ताहरु (पूरा भिडियो हेर्नुहोस्)

राजविराज, २६ माघ । सप्तरीको राजविराजस्थित ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माणार्थ प्रक्रिया तत्काल अघि नबढाईए सत्तासिन पार्टीआवद्ध नेताहरुलाई जिल्लामा छिर्न नदिने एक कार्यक्रमका वक्ताहरुले चेतावनी दिएका छन ।
राजविराजमा आइतवार नेपाल राष्टिय वाणिज्य संघ सप्तरी राजविराजले आयोजना गरेको ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्वन्धी अन्तरक्रिया’ कार्यक्रमका वक्ताहरुले यस्तो चेतावनी दिएका हुन् ।
कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर दासले प्रतिष्ठान निर्माण गर्ने नाममा जनतालाई ललिपप देखाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘सरकारले प्रतिष्ठान निर्माण गर्ने नाममा जनतालाई ‘ललिपप’ देखाउने काम गरेको जस्तो देखियो’ उनले भने–‘नभए प्रतिष्ठान निर्माण प्रक्रिया किन रोकिएको छ?, यसको जवाफ सत्तासिन पार्टीआवद्ध नेताहरुलाई दिनै पर्छ ।’
उनले सत्तासिन पार्टीले तत्काल निर्माण प्रक्रिया अघि बढाउनमा तदारुकता नदेखाए नेताहरुलाई जिल्लामा छिर्न नदिने आक्रोश पोखे । ‘सप्तरी उद्योग वाणिज्य संघको नेतृत्वबाट बोल्दैछु, सत्तासिन पार्टीहरु वुझ्नुस् जिल्लामा पूर्वबाट होइन, पश्चिमबाट पनि छिर्न पाउन हुन् र तपाईहरुको घरमा गएर हामी व्यवसायीहरु अनसन बस्छौं’ उनले भने–‘केन्द्रलाई मात्र भनेको होइन्, प्रदेश र स्थानीय सरकारलाई पनि भनेको हो ।’
उनले सवै कमी कमजारीहरुलाई तत्काल सच्याएर काम अघि बढाउन उनीहरुलाई सचेत समेत गराए । ‘कहाँ के कमजारी भएको छ, तुरुन्त सच्याउनुस्’ उनले थपे–‘यो होइन कि डिपिआर मात्रै गर्न दुई–चार–छ महिना लगाएर ४१ करोड रुपैयाँ सकियो, कार्यालय यहाँ स्थापना गरेर कर्मचारी उहिँबाट तलव खाने र काम केही नगर्ने ।’
सोही कार्यक्रममा महिला अधिकारकर्मी आभासेतु सिंहले प्रतिष्ठान निर्माणमा सरकारलाई केही चुनौती रहेपनि चुनौतीसँगै ठुलो अवसर समेत रहेको बताइन् । ‘प्रतिष्ठान निर्माणमा सरकारलाई केही चुनौती हुन सक्छ तर चुनौतीमा पनि सुनौलो अवसर छ, यो अवसर टिप्न सक्यो भने सरकारको जयजय हुने कुरामा दुईमत छैन’ उनले भनिन्–‘त्यसैले सत्तामा सहभागी दलहरुलाई प्रतिष्ठान निर्माणमा तदारुकता देखाउनु जरुरी छ ।’
नागरिक संजालका संस्थापक अध्यक्ष सुखराम यादवले आफ्नो ‘ग्लोबल बहुमुखी सहकारी संस्था’ले सो जग्गा लिएका कारण प्रतिष्ठान निर्माणमा अवरोध आएको विषय गलत रहेको बताए । ‘प्रतिष्ठान निर्माणको कुरा आउनुभन्दा धेरै अघि नै एउटा प्रोजेक्टकोलागि सो जग्गा आफ्नो संस्थाले लिएको थियो’ उनले भने–‘तर सो जग्गामा प्रतिष्ठान निर्माण हुने कुरा आएसँगै आफुहरु ब्याक भएको हो ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका यादवले आफु हरक्षण सप्तरीमा प्रतिष्ठान निर्माण गराउने पक्षमै रहेको बताए । ‘पछिल्लो समयमा प्रतिष्ठान निर्माणमा ढिलासुस्ती देखिएपछि आफ्नै नेतृत्वमा १ सय १ सदस्यीय जनदवाव समिति समेत गठन गरेर दवाव दिने कार्य पनि गरेकै हो’ उनले भने–‘तरपनि नानाथरी प्रचारबाजी गरेर आफुलाई बदनाम गर्ने कार्य गरियो ।’
कार्यक्रममा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादवले राजविराजमा प्रतिष्ठान निर्माणकालागि आफु कटिवद्ध भएर लागि परेको बताए । ‘प्रतिष्ठान निर्माण हुनु राजविराजवासिकोलागि मात्रै सुखद खबर होइन्, यो सप्तरीवासिकै लागि सुखद कुरा हो’ उनले भने–‘तर दुर्भाग्य नै भन्नुपर्छ अहिले आएर भुमि सुधार मन्त्रालयमा फाइल रोकिएको छ ।’ उनले प्रतिष्ठान निर्माणकालागि जग्गा पास र गठन आदेशको प्रक्रिया १० महिनादेखि रोकिएको बताए । तथापी यी प्रक्रियाहरु अघि बढाउन समन्वय भईरहेको उनले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथी सुमनराज प्याकुरेलले निर्माण प्रक्रियामा केही ढिलाई भएपनि सप्तरीमै प्रतिष्ठान निर्माण हुने कुरामा शंका नगर्न आग्रह गरेका छन । ‘फत्तेपुरमा लान खोज्यो, कञ्चनपुरमा लान खोज्यो जस्ता हल्ला धेरै भयो’ उनले भने–‘शंका नगर्नुस्, कुनै पनि हालतमा राजविराजमै प्रतिष्ठान निर्माण हुनेछ ।’ उनले केही महिनाभित्रै प्रधानमन्त्री केपी शर्मा ओली नै आएर प्रतिष्ठानको शिलान्यास गर्ने प्रतिवद्धता समेत जनाए ।
नेपाल राष्टिय वाणिज्य संघ सप्तरीका अध्यक्ष सुरेश सिंहको अध्यक्षतामा आयोजित अन्तरक्रियामा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्षद्वय मुरली प्रसाद यादव र धिरेन्द्र प्रसाद साह, सप्तरी अपाङ्ग संघका अध्यक्ष बलदेव मण्डल लगायतले समेत प्रतिष्ठान निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन ।