राजविराज, २६ माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा युवाहरुको लागि आइतवार शारिरीक अभ्यास प्रशिक्षण सञ्चालन गरिएको छ । गाउँपालिकाले राजविराजस्थित नेपाली सेनाको भीमदल गणको सहयोगमा शारिरीक अभ्यास पशिक्षण सञ्चालन गरेको हो ।
नेपाली सेनामा मधेशी युवाहरुको प्रवेशकालागि आवश्यक शारीरिक अभ्यास तथा प्रशिक्षण दिई सेनामा सहज प्रवेश गराउने उद्देश्यले उक्त प्रशिक्षणको आयोजना गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेशकुमार झाले जानकारी दिए । मधेशका युवामा नेपाली सेनामा प्रवेश गर्ने प्रक्रियाका सम्बन्धमा जानकारीको अभाव रहेको तथा नेपाली सेनाप्रति अपनत्वको भावना जागृत गर्न उक्त प्रशिक्षणको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बताए ।
सो प्रशिक्षणको गाउँपालिकाका अध्यक्ष सिंह र भीमदल गणका गणपति प्रमुख सेनानी गुप्तबहादुर कुँवरले शुभारम्भ गरेका छन । सो प्रशिक्षणमा गाउँपालिकाका विभिन्न वडाका युवाहरुको सहभागिता रहेको जनाएको छ ।