राजविराज, २५ माघ । छिमेकी मुलुकलाई प्रभावित गरेको ‘कोरोना भाइरस’ बाट जोगिन सप्तरीमा सतर्कता अपनाइएको छ । भाइरसबाट जोगिन सप्तरीस्थित नेपाल–भारत सिमानाका तथा राजविराज विमानस्थलमा हेल्थ डेस्क स्थापना गरी शनिवारदेखि विदेशी तथा पर्यटकहरुको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले गरेको परिपत्रअनुसार स्थानीय सरकारले तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–१ बेल्ही भन्सारस्थित नेपाल–भारत सिमानाका तथा राजविराज विमानस्थलमा ‘हेल्थ डेस्क परामर्श स्वास्थ्य सेवा’ स्थापना गरिएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन । ‘जिल्ला प्रशासन कार्यालयले गरेको परिपत्रअनुसार आफुहरुले तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–१ बेल्ही भन्सारस्थित हेल्थ डेस्क परामर्श स्वास्थ्य सेवा सुरु गरेको हो’ उनले भने–‘यस नाका भएर दैनिक ३ सयदेखि ५ सय भारतीय नागरिकहरु नेपालतर्फ भित्रिने गरेका छन ।’

उनीहरुलाई स्वास्थ्य परीक्षण गरेर नेपालतर्फ भित्र्याउने भएकाले यसले केही हदसम्म कोरोना भाइरस नियन्त्रण गर्नमा मद्दत पुग्ने विश्वास लिइएको उनले बताए । ‘परिपत्रअनुसार सप्तरीको दुई स्थानमा यसरी हेल्थ डेस्क परामर्श स्वास्थ्य सेवा सञ्चालनमा ल्याउने छ’ अध्यक्ष सिंहले भने–‘जसअनुसार राजविराज विमानस्थलमा पनि हेल्थ डेस्क स्थापना गरिएको हो।’

बाहिरबाट विमानस्थल भएर आउने पर्यटकहरुलाई समेत स्वास्थ्य परिक्षण गरेर प्रवेश गराउने कुरा रहेको उनले बताए । बिहान १० बजेदेखि राति ६ बजेसम्म हेल्थ डेस्कमा शंका लागेका विदेशी तथा पर्यटकहरुको स्वास्थ्य परिक्षण कार्य भईरहेको छ ।

हेल्थ डेस्कमा परिक्षण गरिएका व्यक्तिहरुमा कोरोना भाइरसको लक्षण देखिने वितिकै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाउने योजना रहेको तिलाठी कोइलाडी गाउँपालिकाका स्वास्थ्य संयोजक शैलेश साहले बताए । ‘बेल्हीस्थित हेल्थ डेस्कमा विहिवार नेपालतर्फ आईरहेका २७ जना भारतीय नागरिकको स्वास्थ्य परीक्षण भयो’ उनले भने–‘तीमध्ये कोही पनि शंकास्पद विरामी देखिएनन् ।’
जिल्लाको मुख्य नाकाको रुपमा रहेको बेल्ही भएर दैनिक ५ सयबढी भारतीय नागरिकहरु नेपालतर्फ आउने गरेका छन ।