• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

नेपाली सेनाको सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

नेपाली सेनाको सामुदायिक विपद् प्रतिकार्य तालिम सम्पन्न

राजविराज, २४ माघ । तिलाठी कोइलाडी गाउँपालिका र राजविराजस्थित नेपाली सेनाको भीमदल गणको संयुक्त आयोजनामा तिलाठीमा मङ्गलबारदेखि सञ्चालित सामुदायिक विपद् प्रतिकार्य तालिम शुक्रबार सम्पन्न भएको छ ।
तालिम समापनका अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले तालिमबाट युवाहरुलाई सम्भावित विपद्बाट आफू पनि जोगिन र समुदायलाई पनि जोगाउन प्रभावकारी हुने बताए । भीमदल गणका गणपति गुप्तबहादुर कुँवरले युवाहरुलाई विपद्सँग कसरी सामना गर्ने भन्ने सन्दर्भमा तालिम फलदायी भएको विश्वास ब्यक्त गरे ।
बाढीजन्य प्रकोपबाट अत्यधिक प्रभावित रहेको तिलाठी कोइलाडी गाउँपालिकाका युवाहरुलाई विपद् पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी ज्ञान, सीपको अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् । मधेशका युवामा नेपाली सेनामा प्रवेश गर्ने प्रक्रियाका सम्बन्धमा जानकारीको अभाव रहेको तथा नेपाली सेनाप्रति अपनत्वको भावना जागृत गर्न समेत उक्त तालिमको आयोजना गरिएको अधिकृत झाले बताए । तालिममा नेपाली सेनाको श्री १ नम्बर विपद् ब्यवस्थापन गण सुन्दरीजल काठमाण्डौका हरिप्रसाद जैसी, सनिर कार्की, गणेश सुनार, रामजी विष्ट, हरि सुनार, सागर थापासहितकाले सहजीकरण गरेको भीमदल गणका क्याप्टेन कमल श्रेष्ठले बताए । तालिममा गाउँपालिकाको विभिन्न वडाका गरी १०८ जना युवाको सहभागिता रहेको थियो । समापनको अवसरमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।