राजविराज, २१ माघ । तिलाठी कोइलाडी गाउँपालिका र राजविराजस्थित नेपाली सेनाको श्री भीमदल गणको संयुक्त आयोजनामा तिलाठीमा मंगलबारदेखि सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन गरिएको छ ।
सो तालिम उद्घाटनको अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले गाउँपालिका विपद्बाट अति प्रभावित रहेको हुँदा युवाहरुलाई आफ्नो समुदायमा आइपर्ने विपद्को सामना गर्न पूर्वतयारी गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।
भीमदल गणका गणपति गुप्तबहादुर कुँवरले विपद्का बेला उद्धार तथा खोजतलासमा युवाहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उनीहरुलाई तालिम दिई सक्षम बनाउनु आवश्यक भएकोले पालिकाहरुसँगको समन्वयमा तालिम सञ्चालन गरिएको जानकारी दिए ।
गणपति कुँवरले नेपाली सेनामा प्रवेश गर्ने सम्बन्धमा आम जनतामा जानकारीको अभाव रहेको, नेपाली सेनाप्रति अपनत्वको भावना जागृत गर्न तथा सेनामा प्रवेश सम्बन्धी प्रक्रियाको बारेमा समेत जानकारी गराए ।
सो तालिममा नेपाली सेनाको श्री १ नम्बर विपद् ब्यवस्थापन गण सुन्दरीजल काठमाण्डौका हरिप्रसाद जैसी, सनिर कार्की, गणेश सुनार, रामजी विष्ट, हरि सुनार, सागर थापासहितकाले सहजीकरण गर्ने तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए । उद्घाटन कार्यक्रम भीमदल गणका क्याप्टेन कमल श्रेष्ठले सो कार्यक्रम सञ्चालन गरेका थिए ।
तालिममा गाउँपालिकाको विभिन्न वडाका गरी ५५ जना युवाको सहभागिता रहेको छ ।