राजविराज, २० माघ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको संयोजन तथा समन्वयमा राजविराजस्थित नेपाली सेनाको श्री भीमदल गणले तिलाठीमा सोमबार जानकारीमूलक कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली सेनामा प्रवेश गर्ने सम्बन्धमा आम जनतामा जानकारीको अभाव रहेको कारण गाउँपालिकाको कार्यालयको समन्वयमा भीमदल गणले सो कार्यक्रमको आयोजना गरेको हो । नेपाली सेनाप्रति अपनत्वको भावना जागृत गर्न तथा सेनामा प्रवेश सम्बन्धी प्रक्रियाको बारेमा सो कार्यक्रममा विस्तृत रुपमा प्रस्तुतिकरण गरिएको थियो ।
कार्यक्रममा नेपाली सेना सम्बन्धी नेपाली तथा मैथिली भाषामा तयार पारिएको वृत्तचित्र समेत प्रदर्शनी गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् । कार्यक्रममा श्री भीमदल गणका क्याप्टेन कमल श्रेष्ठले नेपाली सेनाले सञ्चालन गर्ने गरेको नेपाल स्वयम्सेवक क्याडेट, नेपाली सेनामा भर्ना प्रक्रिया लगायतको बिषयमा प्रस्तुतिकरण गरे ।
यसैगरी मङ्गलबारदेखि विपद् प्रतिकार्य सम्बन्धी तीन दिने तालिमको समेत आयोजना गरिने छ । यस्तै गाउँपालिकाको समन्वयमा सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रम, माइन जोखिम शिक्षा, नेपाली सेनामा भर्ना प्रक्रियामा लिईने शारीरिक परीक्षणबारे प्रदर्शनीको आयोजना गर्नुका साथै स्वास्थ्य शिविर समेत सञ्चालन गरिने गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत झाले बताए ।
कार्यक्रमको अवधिमा नेपाली सेना सम्बन्धी विभिन्न वृत्तचित्र तथा फोटो प्रदर्शनी समेत गरिने जनाईएको छ ।