राजविराज, १७ माघ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह ‘रामबाबु’ ले नेपालको विकासीय क्षेत्रमा थप टेवा पुर्याउन भारतसँग आपसी समझदारी कायम गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
सप्तरीको राजविराजमा शुक्रवार भारतको ७१ औं गणतन्त्र दिवशको अवसरमा आयोजना गरिएको ‘नेपाल के विकास में भारतीय योगदान विषयक अन्तरक्रिया एंव अभिनन्दन कार्यक्रम’ उनले यस्तो बताएका हुन् । ‘देश विकासको निम्ति भारतसँग समझदारी गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’ उनले भने–‘भारतसँगको सहकार्यले देश विकासमा थप टेवा पुग्नेछ ।’
उनले सधै नेपाल र भारतबीच मित्रताको सम्वन्ध रहेकोले देशमा आएको संघीयतालाई मजवुत पार्न तथा समृद्ध नेपाल बनाउन पनि भारतसँग थप समझदारीको आवश्यता रहेको बताए । ‘संघीयतालाई दिगो बनाउन र सुखी नेपाली, समृद्ध नेपालको सपना साकार पार्न पनि संघ सरकारले मित्र राष्ट्रसँग समन्वय गरेर अघि बढ्नुपर्ने जरुरी छ’ अन्तरक्रियाका प्रमुख अतिथी समेत रहेका मन्त्री साहले भने–‘यसकालागि संघ सरकारलाई थप तदारुकता प्रस्तुत हुनुपर्ने मेरो वुझाई छ।’
अर्को सन्दर्भमा बोल्दै मन्त्री साहले देश संघीय संरचनामा गएपनि संघ सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकारबाट वञ्चित राखेको आरोप लगाए । ‘संघीय संरचनाअनुसार प्रदेश र स्थानीय सरकारलाई पनि अधिकार सम्पन्न पार्नुपर्ने हो’ उनले भने–‘तर, संघ सरकार अधिकार बाँडफाँड चाहिरहेको छैन्, जसका कारणले प्रदेश र स्थानीय सरकारलाई अझैसम्म अधिकारबाट वञ्चित रहनु परेको छ ।’
नेपाल भारत मैत्री युवा संघ सप्तरी, युवा सशक्तीकरण संघ–नेपाल, लालापट्टी सप्तरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सभा सदस्यद्वय मृगेन्द्र कुमार सिंह यादव र शेखर कुमार सिंह, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सह–महामन्त्रीद्वय जय प्रकाश ठाकुर र गजेन्द्र कुमार मण्डल, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, वरिष्ठ अधिवक्ता हिमत सिंह, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, बोदे बरसाईन नगरपालिकाकी उपमेयर रन्जु साह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव लगायतको उपस्थिती थियो ।
आयोजक संस्थाका अध्यक्ष किशोरकुमार यादव ‘केसी’ को अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रियामा संस्थाका सल्लाहकार सह प्राध्यापक सुरेन्द्र गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


सो कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष यादवले मन्त्री साह, राष्ट्रिय सभा सदस्यद्वय यादव र सिंहलाई अभिनन्दन समेत गरेका छन् ।