• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जेसीजद्वारा कार्यकालको कार्य शुभारम्भ, पूजा र अन्तरक्रिया

जेसीजद्वारा कार्यकालको कार्य शुभारम्भ,  पूजा र अन्तरक्रिया

सप्तरी, १६ माघ– माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व र बिहीबार नै परेको सहिद दिवसको दिन पारेर राजविराज जेसीज २०२० ले आफ्नो कार्यकालको कार्य शुभारम्भ गरेको छ ।
अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा रुपनी गाउँपालिका २ स्थित जेसीज विद्यालय पौवा पुगेको राजविराज जेसीजको टोलीले विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गर्नुका साथै प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले जेसीज विद्यालयमा पुगी सरस्वतीको पूजाआराधना गरी बिद्यालय परिवारसँग अन्तरक्रिया गरिएको अध्यक्ष कटवालले बताए ।
सरस्वती पूजाका दिन सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने एवम् सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वासका साथ कार्यक्रमको शुभारम्भ गरिएको उनले बताए । वसन्त पञ्चमीको दिन विधि विधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाईन्छ । विभिन्न विद्यालयमा बनेको सरस्वतीको मन्दिरका साथै टोल–टोलमा बनाइएको अस्थायी मन्दिरहरुमा बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
विद्यालयमा अध्ययनरत बाल विकासका ५६ विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले नयाँ योजना बनाउन अन्तरक्रिया केन्द्रीत रहेको कार्यकारिणी उपाध्यक्ष विप्लव आनन्दले बताए । कार्यक्रममा प्रधानाध्यापक राजकुमार सुनरैतसहित शिक्षक र स्थानीयवासी, राजविराज जेसीजका अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कानूनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, उपाध्यक्षहरु, मनोनित पदाधिकारीहरु, साधारण सदस्यहरुको उल्लेख्य सहभागिता थियो । प्रभावकारी ढङ्गले विद्यालयको समुचित व्यवस्थापनका विषयमा समेत जेसीज पदाधिकारीहरु र विद्यालयका शिक्षक–महिला शिक्षकबीच छलफल भएको महासचिव खेलानन्द दासले बताए ।
यसैगरी राजविराज जेसीजले साँझ सहिद दशन चोकमा सहिदको सम्झनामा दिप प्रज्वलन गरी सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । देशमा प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदहरुप्रति दिप प्रज्वलन गरी श्रद्धाञ्जली गरिएको हो ।
वि.सं. २०१२ सालदेखि नै प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा विभिन्न कार्यक्रमका साथ शहिद सप्ताह मनाइन्छ । जहानियाँ राणा शासनको विरुद्वको आन्दोलनमा होमिदा वि.सं. १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।